Logo
|
Sunday 5th May 2024
Logo

epaper

फोहर व्यवस्थापनमा क्याम्पससँग सहकार्य



महानगरपालिकाले फोहर व्यवस्थापनका लागि घरदैलो कार्यक्रम शुरु गरेको छ ।

कामपा, वातावरण व्यवस्थापन विभागले बुद्धनगरमा रहेको कादम्बरी क्याम्पससँग सहकार्य गरी चार दिनदेखि घर घरमा गई फोहर व्यवस्थापनबारे जनचेतना कार्यक्रम शुरु गरेको छ । उक्त कार्यक्रम आगामी चैत मसान्तसम्म गरिने वातावरण व्यवस्थापन विभाग, कार्यसञ्चालन शाखाका प्रमुख नगर प्रहरी निरीक्षक मीनबहादुर थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार अहिलेसम्म टेकु, कालीमाटी, रविभवन, कलङ्की, कुलेश्वर, बल्खु, थापाथली, त्रिपुरेश्वर, बानेश्वरलगायत स्थानमा काम सम्पन्न भइसकेको छ । बिहान १० देखि अपराह्न ३ बजेसम्म वातावरण विभागका पदाधिकारी, क्याम्पसका विद्यार्थीसहित दैनिक चार टोलीले उक्त काम गरिरहेका छन् ।

नागरिकको जथाभावी फोहर फाल्ने बानीमा परिवर्तन नआएकाले यस्तो कार्यको थालनी गरिएको बताइएको छ । घरबाट निस्केको फोहरलाई उपयुक्त स्थानमा मात्रै व्यवस्थापन गर्न अनुरोध गर्नु घरदैलो कार्यक्रमको मुख्य उद्देश्य छ । कामपाबाट दैनिक रूपमा कुहिने र नकुहिने गरी ४०० टन फोहर संकलन हुँदै आएको छ ।

कामपाले पछिल्लो समय सुन्दर शहर निर्माणका लागि सुरक्षाको दृष्टिकोणले जोखिम बनेका भुइँमा लतारिएको र प्रयोग नगरिएका तारको व्यवस्थापन र धुलो संकलन, गैरकानूनी रूपले फोहर फाल्नेलाई निगरानी, सडक विस्तारका क्रममा छरपष्ट भएका तार संकलन, अव्यवस्थित तार आफैँ काट्ने वा अन्य निकायले काटेका तार व्यवस्थापन गर्ने काम गरिरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्