Logo
|
Saturday 11th May 2024
Logo

epaper

सर्पदंशितको उपचार झापामा



 

 मेची अञ्चलभरिका सर्पदंशका बिरामीको उपचार झापामा हुने गरेको छ ।

पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर, तेह्रथुम र इलाममा सर्पदंश उपचार केन्द्र नहुँदा उनीहरु झापा धाउन बाध्य छन् । झापाको दमक रेडक्रस, नेपाली सेनाको चारआली ब्यारेक र कनकाई सहारा सर्पदंश उपचार केन्द्रबाट सर्पदंशको उपचार हुँदै आएको छ । कनकाई केन्द्र भने दश महिनाअघिदेखि सञ्चालनमा आएको हो ।

झापाका यी तीन उपचार केन्द्रबाट नै पूर्वी पहाडी जिल्ला, छिमेकी जिल्ला मोरङ, भारतका पश्चिम बंगाल र बिहार राज्यका बिरामीको उपचार हुँँदै आएको जिल्ला जनस्वाथ्य कार्यालय झापाले जनाएको छ । गर्मी शुरु भएसँगै बिरामीको चाप उच्च हुने गरेको छ । बिरामी बढेसँगै सर्पदंश उपचार केन्द्रमा ‘एन्टी स्नेक भेनम’को अभाव हुने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका वरिष्ठ जनस्वास्थ्य अधिकृत मधुसूदन कोइरालाले जानकारी दिनुभयो ।

“गत वर्ष गर्मीको समयमा भ्याक्सिन पूरै अभाव भयो”, उहाँले भन्नुभयो, “ठूलो क्षेत्रका बिरामीलाई सेवा दिनुपर्ने भएकाले पनि प्रायः भ्याक्सिन अभाव भइनै रहन्छ ।” चारआलीस्थित सर्पदंश उपचार केन्द्र व्यवस्थापन समिति अध्यक्ष दुर्गाप्रसाद भट्टराई भारतमा भन्दा कम मूल्यमा नेपालमा उपचार हुने भएकाले भारतीय बिरामीको चाप बढेको बताउनुहुन्छ । उहाँका अनुसार भर्ना हुँदा रू ५० शुल्क तिर्नुपर्छ । त्यसपछि पाँच सिसीसम्म एन्टी इस्नेक भेनम प्रयोग हुँदा रू एक हजार तिर्नुपर्छ । त्यसभन्दा बढी जति औषधि लागे पनि रू दुई हजार मात्रै सेवा शुल्क लाग्ने भट्टराईले बताउनुभयो ।

चालु आर्थिक वर्षको हालसम्ममा जिल्लामा एक हजार १०५ थान भ्याक्सिन खपत भएको कार्यालयका स्टोर किपर रमेश खतिवडाले जानकारी दिनुभयो । अहिले कार्यालयमा ८० थान मात्र भ्याक्सिन मौज्दात छ । ‘भ्याक्सिनको अभाव छ’, उहाँले भन्नुभयो, “माग भएअनुसारको भ्याक्सिन आएको छैन ।”

कनकाई केन्द्रमा १० महिनामा १६० सर्पदंशितको उपचार गरिएको केन्द्रका ख्याम शिवाकोटीले बताउनुभयो । उहाँका अनुसार अधिकांश बिरामी दक्षिणी सीमावर्ती भारतीय क्षेत्रका छन् । गत आव २०७३÷७४ मा जिल्लामा एक हजार ५१० थान भ्याक्सिन खपत भएको कार्यालयले जनाएको छ । गर्मी शुरु भएसँगै वैशाखदेखि असोजसम्म सर्पदंशका बिरामी बढी हुने गरेको बताइएको छ । सरकारले संस्थालाई एन्टी स्नेकभेनम निःशुल्क उपलब्ध गराउँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्