Logo
|
Saturday 4th May 2024
Logo

epaper

अंगदान पुण्य काम



 

नेपालमा मस्तिष्क मृत्यु भएका व्यक्तिको अंगदानसम्बन्धि कानुन शुरु भएको करिब १ वर्ष भएको छ । विकसित मुलुकहरुमा मस्तिष्क मृत्यु भएका व्यक्तिको अंगदानसम्बन्धि कानुन धेरै पहिला आइसकेको भएपनि विकासोन्मुख र अविकसित देशहरुमा शुरु भएको धेरै भएको छैन । वंगलादेशमा मस्तिष्क मृत्यु भएका व्यक्तिको अंगदानसम्बन्धि कानुन आएको पनि धेरै भइसक्यो । तर नेपालमा अलि ढिला भएको देखिन्छ ।
संसारमा मानव अंग प्रत्यारोपण सर्जन नै मस्तिष्क मृत्युबाट हुने अंगदान सम्बन्धि कानुन ल्याउनमा सक्रिय भएको पाइन्छ । नेपालमा पनि डा.पुकार चन्द्र श्रेष्ठले मस्तिष्क मृत्युबाट हुने अंगदानसम्बन्धि कानुन ल्याउनमा धेरै मिहिनेत गर्नुभएको छ ।
मस्तिष्क मृत्युबाट अंगदान गर्न सकिने कानुन बनेपनि अहिले अपेक्षा गरेअनुरुप अंग प्राप्त हुन सकेको छैन । यसमा जनचेतनाको अभाव छ । त्यसैले समाजमा मस्तिष्क मृत्युको अंगदानसम्बन्धि विषयलाई व्यापक बनाउनुपर्छ । मस्तिष्क मृत्यु भनेको मृत्यु नै हो । यसरी मृत्युपछि जलेर वा गाडेर पञ्चतत्वमा मिल्ने अंगदान जति पुण्य अरु हुन सक्दैन ।
यसरी नष्ट हुने एउटा शरीरबाट प्रत्यारोपणका लागि निकालिने ८ वटा अंगले अरु ८ जना व्यक्तिलाई नयाँ जीवन दिन सकिन्छ भने यसमा किन संकोच मान्ने ।
मस्तिष्कघात र दुर्घटनामा परी टाउकोमा चोट लागेका, डुबेर अस्पतालमा आइपुगेका बिरामीहरुको मस्तिष्क मृत्यु भएका व्यक्तिको अंगदान गर्न प्रेरित गर्नुपर्छ ।
मस्तिष्क मृत्यु भएका व्यक्तिको आफन्तहरुसँग कुरा गर्दा उनीहरुमा यसबारे ज्ञान नभएकाले बुझाउन र सम्झाउन अलि गारो छ । त्यसैले यसबारे पत्रपत्रिकाबाट व्यापक जनचेतना अभिबृद्धिको जरुरत छ भने मस्तिष्क मृत्यु भएपछि खेर जाने अंगले अंग फेल भएर मृत्यु कुरिरहेका व्यक्तिलाई कसरी बचाउन सकिन्छ भन्नेबारे टेलिसिरियल बनाएर हरेक व्यक्तिलाई अंगदानप्रति प्रेरित गर्नुपर्छ ।
हामीले मस्तिष्क मृत्यु भएको परिवारसँग कुरा गर्दा यसबारे अगाडि नै सुनेको अवस्था भएमा अंगदान गर्न त्यति संकोच मान्दैनन् ।

 

कुन अंग कति समयमा प्रत्यारोपण गर्ने
मस्तिष्क मृत्यु हुनासाथ जति सक्दो चाँडो अंग निकालिसक्नुपर्छ । अन्यथा अंगले काम गर्न सक्दैन । अंग निकाल्नुपूर्व रगतको परीक्षण गरी बिरामीमा क्रस म्याच गर्नुपर्छ । क्रस म्याच गर्दा मिल्ने व्यक्तिलाई मात्र अंग प्रत्यारोपण गर्नुपर्ने भएकाले दुवै पक्ष तयारी अवस्थामा रहनुपर्छ । शल्यक्रिया कक्ष अत्यन्तै राम्रो संक्रमण नहुने खालको हुनुपर्छ । अंग निकालेपछि स्पेशल आइस बक्समा राखेर प्रत्यारोपण गर्ने अस्पतालसम्म ल्याउनुपर्छ ।
मस्तिष्क मृत्यु भएको व्यक्तिबाट निकालिएको मिर्गौला २४ घण्टाभित्र प्रत्यारोपण गरिसक्नुपर्छ । कलेजो प्याँक्रियाज १० देखि १२ घण्टाभित्र र मुटुको ४ घण्टाभित्र प्रत्यारोपण गरिसक्नुपर्छ ।
नेपाल सरकारले मस्तिष्क मृत्यु भएको घोषणा भएका व्यक्तिको अंग निकाल्न, व्यवस्थापन गर्न र समन्वयात्मक भूमिका खेल्न भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई अक्तियारी दिएको छ । नियमावलीमा कुनैपनि व्यक्तिको मस्तिष्क मृत्युपश्चात् केन्द्रको समन्वय इकाइमा तत्काल सम्पर्क गरी आधिकारिक रेकर्ड अध्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ । अंगसम्बन्धि समस्या भएका व्यक्तिले पनि समन्वय इकाइमा आफ्नो समस्या दर्ता गराउनुपर्छ । यसैका आधारमा समन्वय इकाइले कुन प्रयोगकर्तासँग अंग मेल खान्छ उसैलाई प्राथमिकतामा राखी अंग निकाल्ने र प्रत्यारोपण गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्