अस्पताल र आवास भवन हस्तान्तरण
२०७५, ११ बैशाख मंगलवार ०५:४० मा प्रकाशित
भूकम्पपछि नेपाल रेडक्रसले धुञ्चेमा निर्माण गरेको जिल्ला अस्पताल र स्वास्थ्यकर्मी आवास भवन सोमबार हस्तान्तरण भएको छ ।
रु एक करोड ६८ लाख ९३ हजारमा निर्माण भएको २५ कोठे जिल्ला अस्पताल र रु दुई करोड ८८ लाख ३३ हजारको लागतमा अस्पताल हाताभित्र निर्मित कर्मचारी, स्वास्थ्यकर्मी बस्ने २६ कोठा भएका चारवटा भवनसमेत सोमबारै जिल्ला स्वास्थ्य कार्यालयलाई हस्तान्तरण भएको रेडक्रस जिल्ला सभापति बाबुलाल तामाङले बताउनुभयो । अस्पतालमा १५ श्यया रहेका छन् ।
क्यानाडाली रेडक्रसको आर्थिक सहयोगमा निर्माण भएको प्रिफेब्रिकेटेड मोडलका भवनबाट अस्पतालको सबै सेवा सुचारु भइसकेको र दैनिकरुपमा बहिरंगमा समेत २५÷३० जना बिरामीले सेवा लिने गरेको जिल्ला स्वास्थ्य प्रमुख डा गुणनिधि शर्माले बताउनुभयो ।
एक कार्यक्रमका बीच स्थानीय जनप्रतिनिधि, रेडक्रसकर्मी, स्थानीय प्रशासकसमेतको रोहवरमा रेडक्रसका केन्द्रीय अध्यक्ष सञ्जीव थापा र क्यानेडिएन रेडक्रसका सञ्चालक समितिका अध्यक्ष ग्याभिन गाइल्सले संयुक्तरुपमा शिलापत्रको अनावरण गरी अस्पताल भवन तथा स्वास्थ्यकर्मी आवास हस्तान्तरण गर्नुभएको थियो ।
जिल्ला अस्पताल व्यवस्थित तवरले सञ्चालनमा सहज बनाउन रेडक्रसले रु ४५ लाख पाँच हजारका उपकरण र रु १९ लाख ६८ हजार बराबरको फर्निचरसमेत उपलब्ध गराएको कार्यक्रममा जानकारी गराइएको थियो ।
रसुवा जिल्ला अस्पताल निर्माणले जिल्लावासीका साथै नेपाल–चीन (केरुङ) व्यापार व्यवसायमा आएका व्यक्ति र हिमाली पदयात्रामा आएका पर्यटकको उपचारमा समेत सहज भएको स्वास्थ्यकर्मीले बताएका छन् । रासस