Logo
|
Sunday 28th April 2024
Logo

epaper

बाजुरामा जटिल शल्यक्रिया ठूला सहरमा ५ लाख लाग्ने शल्यक्रिया ५ हजार रुपैयाँमै



 असाध्यै पेट दुखेर छटपटाइरहेकी गौमुल गाउँपालिका–४ की ३६ वर्षीया रितु रोकायालाई अभिभावकले जिल्ला अस्पताल पुर्‍याए । चिकित्सकले जाँच गर्दा उनको सानो आन्द्रामा घाउ देखियो ।

घाउ पाकेर पिप जमिसकेको थियो । चिकित्सकले तत्काल शल्यक्रिया गर्नुपर्ने ठहर्‍याए । त्यस तहको शल्यक्रिया अघि जिल्ला अस्पतालमा भएकै थिएन ।

‘सुविधा सम्पन्न अस्पतालमा पुर्‍याउँदासम्म बाँच्न सक्ने सम्भावना कम थियो,’ शल्यक्रियामा संलग्न जिल्ला अस्पतालका डा. दुर्गाराज महर्जनले भने, ‘अभिभावकको स्वीकृतिमा शल्यक्रिया गर्ने निर्णय गर्‍यौं ।’ जुन सफल शल्यक्रिया, विकास सूचकांकमा सबैभन्दा तल रहेको बाजुरामै गत भदौ अन्तिम साता सम्भव भएको हो । सहरका ठूला अस्पतालमा ५ लाख लाग्ने अप्रेसन जिल्लामा ५ हजारमै भयो ।

आधारभूत तहको सुविधामात्र भएको जिल्ला अस्पतालमा जटिल प्रकृतिको शल्यक्रिया सफल गर्नु चानचुने होइन । तर शल्यक्रिया सफल भएपछि बिरामीका अभिमावकमात्रै नभई उपचारमा संलग्न चिकित्सकसमेत उत्तिकै खुसी थिए । ‘जिल्लामा पहिलोपटक यति ठूलो अप्रेसन सफल भएकामा खुसी त लाग्ने नै भयो,’ डा. महर्जनले भने ।

रेडक्रसको भवनमा भाडामा लिइएको कोठा, माथिबाट पानी चुहिने र तलबाट ढुसी गन्ध आउने अवस्थाको संरचना । त्यहीँ छ बाजुरा अस्पतालको शल्यक्रिया कक्ष । अप्रेसनका लागि आवश्यक उपकरण छैनन् । न त विशेषज्ञ सर्जन नै छन् ।

डा. महर्जन एमडीजीपी डाक्टर हुन् । ‘उनैले हिम्मत गरेपछि डा. टीकाराम राईलगायतको सहयोगमा शल्यक्रिया सफल भयो,’ अस्पताल प्रमुख डा. रूपचन्द्र विश्वकर्माले भने, ‘बिरामीको आन्द्रा फुटेको (इन्टेस्टाइनल पर्फोरेसन) भएको थियो ।’ डा. विश्वकर्माका अनुसार सामान्यतया एमडीजीपी डाक्टरले गर्ने शल्यक्रिया थिएन त्यो । ‘ग्यास्ट्रो सर्जरीका विशेषज्ञ सर्जनले मात्र त्यो शल्यक्रिया गर्ने हो,’ डा. विश्वकर्माले भने । त्यसैमा बेहोस पार्ने ऐनेस्थेसिया मेसिन पनि छैन । न त एनेस्थेसिस्ट छन् ।

औषधिद्वारा बेहोस पार्नुको विकल्प हुन्न । जिल्लामा रक्तसञ्चार केन्द्र छैन । चाहिएका बेला रक्तदाता भेटिँदैनन् । कक्षभित्र मनिटर छैन, अप्रेसन रुममा हुनुपर्ने एक्सरे मेसिन छैन । ‘आईसीयू, एसआईसीयू (अप्रेसन गरेका बिरामी उपचार कक्ष) त टाढाको कुरा भयो,’ डा. महर्जनले भने, ‘पानी र बिजुलीको समस्या भइरहन्छ, चाहिएको औषधि अभाव खड्किरहन्छ ।
त्यही कक्षभित्र पहिलो जटिल अप्रेसन गर्दा हामी पनि डराएका थियौं ।’

अस्पतालका प्रमुख डा. विश्वकर्माका अनुसार सहर–बजारका सुविधा सम्पन्न ठूला अस्पतालमा मात्रै सम्भव त्यो तहको शल्यक्रिया गर्न कम्तीमा ५ लाख खर्च लाग्छ । ‘जिल्लामा ५ हजारमै भयो,’ उनले भने । रितुका पति हस्त पनि शल्यक्रिया सफल भएकामा औधी खुसी थिए ।

हाल उपलब्ध एमडीजीपी डा. महर्जनलाई निक साइमन इन्स्टिच्युट नामक संस्थाले बाजुरा जस्तो दुर्गम जिल्लामा संकट परेका बेला तत्काल गर्नुपर्ने सानातिना शल्यक्रियाका लागि प्रबन्ध गरेको हो । तर उनै डा. महर्जनसित डा. राई, राजेश वर्मा, चूडामणि पन्त, सुनीता गुरुङ र यशोदा थापाको समूहले करिब ५ घण्टा लगाएर त्यो जटिल शल्यक्रिया गरेको थियो ।

ग्यास्ट्रो सर्जरीको जटिल शल्यक्रिया सफल भएपछि हौसिएका चिकित्सकले एक महिनापछि दुई साताअघि अर्को जटिल शल्यक्रियामा पनि सफलता पाएका छन् । कोल्टीकी एक महिलाको पाठेघर बाहिर ट्युबमा गर्भ बसेको थियो । महिला दम्पतीले कोल्टी प्राथमिक स्वास्थ्य चौकी र पाण्डुसेन स्वास्थ्य चौकीबाट गर्भपतनको औषधि खाएकी थिइन् । ‘जिल्ला अस्पतालमा पुग्दा उनको शरीरमा ३ लिटरजति रगत जमेको थियो,’ डा. महर्जनले भने, ‘उनको शल्यक्रिया गर्नुको विकल्प थिएन ।’

अन्तिम अवस्था भएकाले जिल्लामै अप्रेसन गर्ने निर्णय गरें । ‘अप्रेसन सफल भएर ती महिलाको पनि ज्यान जोगियो,’ डा. रूपचन्द्रले भने । अस्पतालमा अन्य सेवा पनि सुरु गरिएको छ । फार्मेसी, डिजिटल एक्सरेको सुविधा, पिसाब र रगत कल्चर गर्ने एनालाइजर प्रविधिको प्रयोगशाला परीक्षणसमेत न्यून शुल्कमा यहीं हुने डा. विश्वकर्माले बताए । साथै, अस्पतालमा हाडजोर्नीको शल्यक्रियासमेत सञ्चालन हुँदै आएको छ । ‘हामीले उपलब्ध गराउने सेवा सहरका अस्पतालमा कैयौं गुणा महँगो पर्छन्’ अस्पताल प्रमुख डा. विश्वकर्माले भने । कन्तिप्पुर दैनिक

प्रतिक्रिया दिनुहोस्