Logo
|
Saturday 27th April 2024
Logo

epaper

बिरामीले औषधि पाएनन्



प्राथमिक स्वास्थ्य सेवा केन्द्र शिवगञ्जमा तीन महिनादेखि औषधी अभाव छ । शिवसताक्षी नगरपालिका ६ स्थित स्वास्थ्य केन्द्रमा औषधी नपाउँदा सेवाग्राही नि:शुल्क सेवा पाउन सकेका छैनन् ।

केन्द्रले औषधी सकिएको बारे जानकारी गराएपनि नगरपालिकाले अहिलेसम्म औषधी उपलब्ध गराएको छैन । दैनिक ५० भन्दा बढी बिरामी आउने गरेको स्वास्थ्य केन्द्रमा औषधी अभाव भएपछि सेवाग्राही निजी क्लिनिकमा औषधी खरिद गर्न बाध्य छन् । केन्द्रमा सामान्य औषधी समेत छैन । स्वास्थ्य केन्द्रमा ३३ प्रकारको औषधी अभाव छ ।

केन्द्रमा ग्यास्ट्रिकको औषधी ट्याबलेट एन्टासीड र ट्याबलेट रेनिटिडिन, एलेर्जिको ट्याबलेट सिट्रीजन र प्रेड्नीसोलन, दमको औषधी ट्याबलेट सालबुटामोल, सुगरको ट्याबलेट मेटफर्मिन ५०० एमजी, प्रेसरको ट्याबलेट एमलोडीपीन ५ एमजी, लुतोको औषधी क्लामिन लोसन, गर्भवतीलाई दिइने ट्याबलेट फोलिक एसिड, नाकको औषधी ओक्सिमेटाजोलेन, सर्जिकल सामग्रीहरू ग्लोब, ब्लेड, थ्रेड (घाउ सिलाउने धागो) र निडिल (सुई) किराले खाएको दातको औषधी क्लोभ वेल छैन ।

केन्द्रमा दुखाइ कम गर्ने औषधीहरूट्याबलेट ब्रुफिन, ट्याबलेट स्प्रिन, इन्जेक्सन डाइक्लोफेनाक, आँखा र कानका बिरामीलाई आवश्यक पर्ने सिप्रो ड्रप, क्लोरोफेनिकल एप्लिकेप, एन्टिबायोटिकहरू एमोक्सासिलिन ट्याबलेट २५० एमजी र क्याप्सुल ५०० एमजी, ट्याबलेट एजिथ्रोमाइसीन २५० एमजी र ५०० एमजी अभाव छ ।

यसैगरी क्लोक्सासिलिन २५० एमजी र ५०० एमजी, महलम कोट्रिमाजोल, बान्ता हुने बिरामीलाई आवश्यक पर्ने औषधी ट्याबलेट इन्डोमेथासिन, तल्लो पेटको दुखाइ कम गर्ने ट्याबलेट हायोसीन, दादको महलम वाइट फिल र न्यूमाइसिन, ट्याबलेट फ्लूकोनाजुल समेत अभाव छ ।

ट्याबलेट एटिनोलोल ५० एमजी, जीबीएच वान पर्सेन, इन्जेक्सन डाइजीपाम, जीभी, ट्याब्लेट सीपीएम ४ एमजीसमेत नरहेको स्वास्थ्य केन्द्रका स्टोर कर्मचारी शिवलाल सिंह राजवंशीले जानकारी दिए ।

सोमबार हात चिलाउने समस्या लिएर आएकी शिवसताक्षी ५ की रबिना राजवंशीले कुनै औषधी पाइनन् । स्वास्थ्य परीक्षणपछि उनले आक्रोशित हुँदै भनिन्, ‘यो क्षेत्रकै ठूलो स्वास्थ्य केन्द्रमा सामान्य औषधी समेत पाइएन । आफैंले किन्नुपर्ने भयो । आवश्यक औषधी नै नपाएपछि नि:शुल्क सेवाको के अर्थ ?’

उनले औषधी सकिदा समेत सम्बन्धीत निकाय गम्भीर नबन्नु दुखद् भएको बताइन । तीन महिनायता केन्द्रमा उपचारका लागि आउनेमध्ये ८० प्रतिशत विरामीलाई औषधी दिन नसकिएको राजवंशीले बताए । ‘हामीले औषधी सकिएकोबारे नगरपालिकालाई जानकारी गराईसकेका छौं । तर, अहिलेसम्म औषधी किनेर पठाउनु भएको छैन’ राजवंशीले भने ।

स्वास्थ्य केन्द्र प्रमुख डाक्टर नवराजेन्द्र मुनाकर्मीले औषधी अभाव हुँदा विपन्न परिवारका विरामी बढी प्रभावित बनेको बताए । ‘यहाँ बढी गरिब तथा विपन्न परिवारका विरामीहरू उपचारका लागि आउनु हुन्छ । हामीले रोग त पत्ता लगाउँछौं । तर, रोग निको हुने औषधी दिन सकिरहेका छैनौं,’ डा. नवकर्मीले भने, ‘औषधी सकिएको बारे नगरपालिकालाई जानकारी गराइसकेका छौं । कहिले औषधी पठाउने हो, थाहा भएन ।’ उनले नि:शुल्क पाउनुपर्ने औषधी नपाएपछि बिरामीहरूले आफूहरूमाथि आक्रोश देखाउने गरेको बताए ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रोशन अधिकारीले अब केही दिनभित्रै औषधी उपलब्ध गराउने बताए । उनले औषधी खरिद प्रक्रिया अन्तिम चरणमा रहेको बताए ।कान्तिपुरदैनिकबाट

प्रतिक्रिया दिनुहोस्