Logo
|
Saturday 27th April 2024
Logo

epaper

रामेछापमा पहिलोपटक डायलासिस सेवा सुरू



रामेछापमा पहिलोपटक डायलासिस सेवा सुरू भएको छ । सदरमुकाम मन्थलीस्थित तामाकोशी सहकारी अस्पतालले जिल्लामै पहिलोपटक डायलासिस सेवा सुरु गरेको हो । राष्ट्रिय मिर्गौला रोग उपचार केन्द्र (काठमाडौं) को संयोजन तथा चुजी फाउन्डेसन (मलेसिया) को सहयोगमा सो डायलाइसिस सेवा सञ्चालनमा आएको हो ।
एक वर्षदेखि काठमाडौंमा बसेर मिर्गौलाको नियमित डायलासिस गराइरहेका रामेछापको खाँडादेवी गाउँपालिका–६, माकादुमका ३० वर्षीय मविन्द्र तामाङले बुधबारदेखि यो सेवा जिल्लामै पाएका छन्।

उपचारका लागि काठमाडौं बस्नुपर्ने झन्झटबाट आजित मिर्गौला रोगी तामाङ जिल्लामै डायलासिस गराउन पाएपछि दंग छन्। जिल्लामै यो सेवा लिने पहिलो व्यक्ति पनि तामाङ नै बनेका छन्।

‘काठमाडौंमा उतै बसेर उपचार गराउनुपर्ने हुन्थ्यो,’ डायलासिसपछि हर्षित हँुदै तामाङले भने, ‘अब त बिहान गएर उपचार गराई बेलुका घरमै फर्कन पाइने अवस्था बन्यो।’ उनका अनुसार उपचारभन्दा पनि काठमाडौं बसाइ खर्चिलो थियो। अब जिल्लामै उपचार गराउन पाउने भएपछि खर्चसमेत धेरै घट्ने उनले बताए। अबदेखि जिल्लाका अन्य मिर्गौला रोगीले आफूलेजस्तो डायलासिसका लागि ठूलो खर्च गरेर राजधानी धाउनुपर्ने बाध्यता हटेको उनी बताउँछन्।

तामाकोशी सहकारी अस्पतालले अहिले पाँचवटा डायलासिस मेसिन राखेर सेवा दिन थालेको छ। एक दिनमा १५ जनासम्मको डायलासिस गर्न सकिने अस्पतालका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले जानकारी दिए। यो सेवाले रामेछापसहित आसपासका दोलखा, ओखलढुंगा, सिन्धुलीलगायत जिल्लाका मिर्गौला रोगीहरू पनि लाभान्वित हुने भएका छन्।

प्रतिक्रिया दिनुहोस्