Logo
|
Monday 6th May 2024
Logo

epaper

सिन्धुलीको तीनपाटनमा गर्भवतीलाई एम्बुलेन्स सेवामा छूट



शिशु मृत्युदर कमी गर्न सिन्धुलीको तीनपाटन गाउँपालिका–१ नं वडाले गर्भवती महिलालाई ५० प्रतिशत छुटमा एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । वडाध्यक्ष गोविन्दबहादुर राउतको अध्यक्षतामा भएको वडा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

वडामा रहेका गर्भवतीलाई पनि प्रसूति गराउन स्वास्थ्य संस्थामा जान सहजता प्रदान गर्न यस्तो निर्णय गरिएको वडाध्यक्ष राउतले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षदेखि हालसम्म छ वटा नवजात शिशुको घरैमा सुत्केरी गराउँदा ज्यान गएपछि गर्भवती र नवजात शिशुको स्वास्थ्यलाई ध्यानमा राखी स्वास्थ्य संस्थामा एम्बुलेन्सबाट लैजाँदा ५० प्रतिशत छुट दिने निर्णय गरिएको उहाँले बताउनुभयो ।

कतिपयले घरमा नै प्रसूति गराउँदा नवजात शिशुमा समस्या नहुने तर आमामा विभिन्न समस्या भएको भन्दै स्वास्थ्य उपचारका लागि वडामा आर्थिक सहयोग माग्ने र आर्थिक सहयोगका लागि सिफारिस लिन आउने क्रम बढ्न थालेपछि वडाले यस्तो निर्णय गरेको उहाँको भनाइ छ ।

पैंसठ्ठी प्रतिशतभन्दा बढी गर्भवतीले घरमा नै प्रसूति गराउने गरेको वडा अध्यक्ष राउतले बताउनुभयो । पहिलो पटक वडाले गर्भवतीलाई ५० प्रतिशत छुट दिने निर्णय गरेको र यो प्रभावकारी भएमा विस्तारै थप गर्दै जान सकिने उहाँको भनाइ छ । घरमा नै प्रसूति गराउने महिलामा आङ खस्नेलगायतका विभिन्न रोग लाग्ने गरेको छ ।

गर्भवती महिलाले घरमा नै बसेर सुत्केरी गराउँदा आमा र बच्चा दुबैको ज्यान जोखिम भएको भन्दै सुरक्षित मातृत्वका लागि यस्तो निर्णय गरिएको र यस निर्णय माघ १ गतेदेखि कार्यान्वयन हुने उहाँको भनाइ छ ।
वडाले स्वास्थ्य संस्थाले प्रदान गर्ने जन्म प्रमाणपत्रका आधारमा बालबालिकाको जन्म दर्ता गर्ने र जन्म प्रमाणपत्र पेश नगरेमा जन्म दर्ता गराउन रु ५०० लाग्ने पनि वडाले निर्णय गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्