सरकारी अस्पतालमा आईसीयू सेवा पाउनै मुस्किल
केही दिन अघि धादिङको गजुरीमा भएको बस दुर्घटनामा घाइते भएका २२ जनालाई महाबौद्धस्थित ट्रमा सेन्टरमा उपचारका लागि ल्याइयो । तीनजनालाई तत्काल सघन उपचार कक्ष( आईसीयू) मा राखेर उपचार गर्नुपर्ने भयो । तर अस्पतालले एकजनालाई आईसीयूमा राखेर बाँकी दुईजनालाई आईसीयू खाली नभएको भन्दै अन्यत्र अस्पताल पठायो । दुईसय शैया रहेको ट्रमा सेन्टरमा कम्तीमा पनि आईसीयूको ५० शैया आवश्यक पर्छ ।
यसैगरी सिन्धुपाल्चोकका उमेश गिरीलाई काठमाडौँको वीर अस्पतालमा ल्याइयो तर आईसीयू खाली नभएको भन्दै उहाँलाई गेटबाटै निजी अस्पताल जानु भनेर फर्काइयो । छातीको सङ्क्रमण भएर गिरीलाई वीर अस्पताल ल्याइएको थियो ।
कपनका ओमकुमारी शर्मालाई केही दिन अघि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि ल्याएपछि आईसीयूमा राख्नुपर्ने भयो । शिक्षण अस्पतालमा पनि आईसीयू खाली नभएकोले त्यहाँबाट फर्काइयो ।
यी केही संवेदनशील उदाहरण मात्र हुन् । आईसीयूमा राखेर उपचार गर्नुपर्ने कैयौं बिरामीले सरकारी अस्पतालमा आईसीयू पाउनै कठिन छ ।
ट्रमा सेन्टरमा हाल १० वटा आईसीयूमध्ये पाँचवटा मात्र सञ्चालनमा छ । सेन्टरमा छवटा आईसीयू अवश्यक उपकरण बिग्रिएर बसेका छन् । ट्रमा सेन्टरका निर्देशक डा. प्रमोदकुमार यादवले छवटा आईसीयू व्यवस्थित नभएकोले सेवा दिन नसकिएको बताउनुभयो ।
‘दुर्घटना भएर उपचारका लागि आउने सेन्टर भएकोले हामीकहाँ तत्काल ५० शैयाको आईसीयू आवश्यक पर्छ’, सेन्टरका निर्देशक डा. यादवले भन्नुभयो, “अहिले हामीसँग भएको १० वटामात्र शैया छ, त्यसमा छ वटा मात्र चालु अवस्थामा छन् ।” डा. यादवले शल्यक्रियापछि भेन्टिलेटरसहितको थप आईसीयू व्यवस्थाका लागि स्वास्थ्य मन्त्रालयमा माग गरिएको जानकारी दिनुभयो ।
सेन्टरमा शल्यक्रियापछि राखिने आईसीयू पनि दुईवटा बिग्रिएका छन् । विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार कुल शैयाको १० देखि १५ प्रतिशत आईसीयू शैया चाहिन्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले सरकारी अस्पतालमा आईसीयूको कमी रहेको जानकारी दिँदै यो वर्ष सरकारी अस्पताललाई आईसीयूका लागि छुट्टै बजेटको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
उहाँले सरकारी अस्पतालमा बिरामीको चाप बढेकोले आईसीयू अभाव हुन पुगेको जानकारी दिँदै सरकारी अस्पतालमा आईसीयू सेवालाई प्राथमिकतामा राखिएको बताउनुभयो । निजी अस्पतालमा अत्यन्त महँगो हुने भएकोले सरकारी अस्पतालमा आईसीयूको माग बढी भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
यता परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले गर्भवती महिलाको मात्र विशेष अस्पताल भएकोले आईसीयू अभाव नभएको जानकारी दिनुभयो ।
यस्तै पहुँच नपुगेका बिरामीको अस्पताल भनेर चिनिएको वीर अस्पतालमा पनि आईसीयूको समस्या उस्तै छ । बीसवटा आईसीयूको शैयामध्ये ११ वटामात्र सञ्चालनमा छन् । जबकी वीर अस्पतालमा दैनिक बिरामी दुई हजारदेखि २५ सयसम्म आउने गर्दछन् । यो अनुपातमा वीरमा सञ्चालित आईसीयू संख्या अत्यन्तै कम हो । अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले वीर अस्पतालमा बिरामीले सधैँ आईसीयू नपाउने गरेको जानकारी दिनुभयो । ‘निजीमा महँंगो शुल्क तिरेर आईसीयूमा राखिएको हुन्छ’, डा. सेन्चुरीले भन्नुभयो, “उनीहरूले वीरमा खाली हुनेवित्तिकै लिइहाल्छन् ।” वीरमा आईसीयू पाउन नेता तथा पहुँच भएका व्यक्ति पनि पालो कुरेर बस्नुपर्ने हुन्छ । डा. सेन्चुरीले पूर्ण रूपमा आईसीयू सञ्चालन गर्न नर्सको अभाव रहेको जानकारी दिनुभयो ।
वीर अस्पतालमा ४६० शैयामध्ये हाल ३६० शैया मात्र सञ्चालनमा रहेका छन् । यस्तै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको हालत पनि त्यस्तै छ । छसय ६३ बेडमा हाल आईसीयू ११ शैया मात्र सञ्चालनमा रहेका छन् । अस्पताल प्रशासन प्रमुख सूर्य अधिकारीले अस्पतालको शैयाको तुलनामा आईसीयू सङ्ख्या निकै कम रहेको जानकारी दिनुभयो ।
यस्तै कान्तिबाल अस्पतालमा पनि नर्स अभावकै कारण ५२ मध्ये ३२ शैयामात्र आईसीयू सञ्चालनमा रहेका छन् । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हाल आईसीयू शैया १० वटा सञ्चालनमा छन् । केन्द्रका प्रशासन प्रमुख हरि पोखरेलले प्रत्यारोपण आईसीयू शैया १० वटा रहेको जानकारी दिँदै अब सामान्य आईसीयू शैया तीनवटा थप गर्ने तयारी भइरहेको बताउनुभयो । शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रमा भने विश्व स्वास्थ्य संगठनको अनुपातमा आईसीयू रहेको छ । केन्द्रमा एकसय शैयाको अस्पतालमा १० वटा आईसीयू रहेका छन् । गोरखापत्रबाट