Logo
|
Friday 17th May 2024
Logo

epaper

बच्चा तस्करी प्रकरण : चिकित्सक र एक कोरियाली नागरिक जेल चलान



नक्कली कागजपत्रका आधारमा नेपाली बच्चा तस्करीको प्रयास गर्ने कोरियाली महिला र उनलाई सघाउने चिकित्सक जेल चलान भएका छन् । १९ वैशाखमा पक्राउ परेका किम नारा र पोखरास्थित जिनो अस्पतालमा कार्यरत चिकित्सक सन्तोषकुमार भट्टलाई जिल्ला अदालत काठमाडौंले जेल चलानको आदेश दिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले उनीहरूलाई पक्राउ गरी मुद्दा दायर गरेको थियो । एक गरिब नेपालीदम्पतीको छोरालाई किमले आफ्नो सन्तान भन्दै कोरिया लैजाने प्रयास गरेकी थिइन् । सोधपुछका क्रममा उनले सो बच्चा नेपाली नै भएको र आफूले नक्कली कागजपत्रका आधारमा पासपोर्ट बनाइदिएको स्विकारेकी थिइन् ।

सिआइबीले अनुसन्धान गर्दा चिकित्सकको समेत संलग्नता खुलेको थियो । दन्तचिकित्सक भट्टले आफ्नो अस्पतालमा नजन्मिएको बच्चालाई जन्मिएको भनेर प्रमाणपत्र दिएका थिए । दाँतको अस्पतालमा बच्चा जन्माएको भनेर कागजपत्र बनाएपछि किम सुरुमै शंकाको घेरामा परेकी थिइन् । ‘जन्मको प्रमाणपत्र’कै आधारमा पोखरा महानगरपालिकाले किमकै बच्चा भनेर जन्मदर्ता गरिदिएको थियो । जन्मदर्ताकै आधारमा दक्षिण कोरियाको दूतावासले बच्चाको पासपोर्ट बनाइदिएको थियो । भिसाका लागि अध्यागमन विभाग जाँदा शंका लागेर सोधपुछ गर्दा तस्करीको प्रयास गरेको खुलेको हो ।

प्रहरीले बच्चाका वास्तविक आमा–बुबासँग समेत प्रहरीले सोधपुछ गरेको थियो । आर्थिक अवस्था कमजोर रहेको र किमले लगेर पढाउने बताएपछि बच्चा दिएको उनीहरूले बताएका छन् । सुरुमा उनले धर्मपुत्र बनाएर बच्चा लैजान खोजेको र प्रक्रिया निकै गाह्रो भएपछि उनले अवैध बाटो अपनाएकी थिइन् ।  नयाँ पत्रीकाबाट

प्रतिक्रिया दिनुहोस्