Logo
|
Thursday 2nd May 2024
Logo

epaper

स्तनपान सप्ताह शुरु : स्तनपान बच्चाको पहिलो खोप



आज (बिहीबार) देखि स्तनपान सप्ताह शुरु भएको छ । यो वर्ष ‘प्रमोसन अफ दी ब्रेस्ट फिडिङ’ नाराका साथ स्तनपान दिवस मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठन र युनिसेफको अगुवाइमा अगस्ट १ देखि ७ सम्म विश्वभर स्तनपान सप्ताह मनाउने गरिन्छ । नेपाललगायत विश्वका १७० भन्दा बढी देशले एक हप्तासम्म विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै यो दिवस मनाउने गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् १९९० देखि हरेक वर्ष विश्व स्तनपान सप्ताह मनाउन शुरु गरिएको हो ।
स्तनपान गराउँदा महिलामा स्तन क्यान्सर, पाठेघरको क्यान्सर, मधुमेह टाइप–२ र सुत्केरीपछि मनोरोगको सम्भावना न्यून रहने बाल विशेषज्ञहरु बताउँदछन् । त्यस्तै बच्चालाई दूध चुसाउँदा आमाको अनुहार बिग्रन्छ भन्ने गलत मानसिकता रहेको चिकित्सकहरु बताउछन् ।

स्तनपान पहिलो खोप
स्तनपान बच्चाहरुका लागि पहिलो खोप हो । स्तनपानले बाल मृत्युदर घटाउने विभिन्न अनुसन्धानबाट देखिएको छ । स्तनपानले बच्चाहरुलाई धेरै रोगबाट बचाउने बाल रोग विशेषज्ञ डा. मेरिना श्रेष्ठ बताउनुहुन्छ ।
डा. श्रेष्ठ भन्नुहुन्छ —‘स्तनपानले बच्चाहरुको रोग प्रतिरोधात्मक शक्ति बढाउछ । साथै उनीहरुको बौद्धिक विकासमा अहम भुमिका निर्वाह गर्छ ।’

के छ तथ्याङ्कमा ?
स्तनपान प्रकृतिले दिएको बरदान हो । आमाको दुध खाने बच्चाको मृत्युदर २२ प्रतिशतले घटेको अध्ययनले देखाएको छ ।
नेपालको सन्दर्भमा ३–४ वर्ष पुगेका झण्डै ४० प्रतिशत बच्चाहरुमा बौद्धिक विकास जुन मात्रामा हुनुपर्ने त्यति नभएको एक अध्ययनहरुले देखाएको छ ।
‘दी ल्यान्सेट’ नामक रिर्सचले हालै गरेको अध्ययनमा बच्चाहरुको बौद्धिक विकासका लागि स्तनपान र आमाको साक्षरता प्रमुख भएको देखाएको छ ।
सन् २०१६ मा नेसनल डेमोग्राफिक सर्भेको तथ्याङ्कमा जन्मेको एक घण्टामै दुध चुसाउने महिलाको ५५ प्रतिशत देखिएको थियो । त्यस्तै ६ महिनासम्म आमाको दुधमात्र खुवाउने ६६ प्रतिशत पाइएको थियो । तर यो सन् २०११ मा ७० प्रतिशत थियो ।
बाल रोग विशेषज्ञ डा.श्रेष्ठ भन्नुहुन्छ —‘हालसालै हामीले भक्तपुरमा एक क्लोज्ड सर्भे गरेका थियौँ । यो तथ्याङ्क प्रश्नावलीबाट निकालिएको हो । प्रत्यक हप्ता घरघरमा गएर आमाहरुलाई सोधेर तथ्याङ्क संकलन गरेका थियाँैै ।’ ‘उक्त सर्वेक्षणमा ६ महिना नियमित आमाको दुध खुवाउने आमाहरु सँख्या १२ प्रतिशत मात्र भेटियो ।’— उहाँले थप्नुभयो ।
शल्यक्रिया गरेर बच्चा जन्माउँदा स्तनपान गराउन सकिदैन भन्ने गलत धारण आम जनमानसमा पाइन्छ । उहाँका अनुसार शल्यक्रिया गरेको आमाले स्तनपान गराउने टेक्निकहरु सिक्नुपर्छ ।


दुध आउदैन भन्नु भ्रम
स्तनपानको बेला दुध आउँदैन भन्नु भ्रम हो । दुध आउँदैन भन्ने सोचाइले शरीरमा हर्मोन सिक्रेसन हुन्छ । डा. श्रेष्ठ भन्नुहुन्छ —‘जब आमाले मेरो दुध पुग्दैन, खुवाउन सक्दिन होला भन्ने मनोवैज्ञानिक तनाव लिन थाल्छन तब अक्सिटोक्सिन रिफ्लेक्स र प्रोल्याक्टिन रिफ्लेक्स हर्मोनको मात्रा कम हुन्छ । यसले दुधको उत्पादन घटाउँछ । यस्तो तनाव भएको अवस्थामा स्तनपान सम्बन्धि विशेषज्ञसँग परामर्श लिनुपर्ने उहाँको भनाइ छ ।

ज्वानोको झोलः मानोवैज्ञानिक सहायता
हाम्रो समाजमा ज्वानोको झोल खुवाउँदा दुध आउँछ भन्ने मान्यता छ । यो एक मानोवैज्ञानिक सहायता हो । यसले आमालाई सकारत्मक प्रतिक्रिया दिन्छ । सकारात्मक सोचले सिक्रेसन बढ्छ । आमाको दुधले ९९ प्रतिशत बच्चालाई पुग्छ । कुनै अवस्थामा आमा बिमारी भएको अथवा सर्जरी गरेर बच्चा जन्मायएको अवस्था घाउ दुखेर हार्मोनको सिक्रेसन कम हुन्छ । त्यसले गर्दा स्तनपानमा समस्या आउनसक्छ ।

बच्चाले गर्छ भोकाएको संकेत
कतिपय आमाले २ घण्टाको फरकमा खुवाउनुपर्छ भनेर पटक पटक उठाएर दुध खुवाउने गरेको पाइन्छ । यसरी खुवाउनुपर्दैन । डा. श्रेष्ठका अनुसार बच्चाले भोग लागेर खान इच्छा गरेको बेला रोएर, चलमलाएर भोक लागेको संकेत गर्छ । उहाँँ भन्नुहुन्छ —‘२४ घण्टामा आमाको दुधमात्र खाँदा ६ चोटी पिसाव गरेको छ भने उसलाई दुध पुगेको छ भन्ने बुझ्नुपर्छ ।’ यदि आमाको दुधमात्र खाएर महिनामा ५सय ग्राम तौल बढेको छ भने बच्चालाई दुध पुगेको बुझ्नुपर्ने उहाँको भनाइ छ ।

कहिलेसम्म स्तनपान गराउने ?
आमाले ६ महिनासम्म अनिवार्य गराउनुपर्छ । तर आमा र बच्चाले चाहेको अवस्थामा २ वर्ष खुवाउन सम्म सक्छन् । कुनै बच्चाले १ वर्ष पछि आफै खान छोड्छन तर कसैले दुइवर्ष भन्दा बढि खान रुचाउछन् ।

स्तनपानले शरीर बिग्रिन्छः भ्रम
आजकालका आमाहरुले शरीर बिग्रिन्छ भनेर स्तनपान गराउन चाहाँदैनन् । महिला गर्भवती भएपछि शरीरमा बोसो जम्न सुरु हुन्छ । डा. श्रेष्ठका अनुसार स्तनपानमात्र गराउँदा बोसो विस्तारै पग्लिएर दुधमा परिणत हुन्छ । स्तनपान नगराउँदा आमाको शरीरमा जमेको बोसो पग्लिदैन । स्तनपान गराउने आमा नगराउने आमा भन्दा बढि स्वास्थ हुने उहाँको भनाइ छ । स्तनपानले पहिलाहरुमा पछि स्तन, पाठेघरको क्यान्सर हुनबाट बचाउँछ ।

सुभाव
समाजमा स्तनपानलाई बढुवा दिनका लागि जनचेतना फैलाउन जरुरी छ । परिवारको सहयोग आवश्यक पर्छ । अस्पताल, हेल्थपोष्टहरुमा पहिलोपटक आमा भएका महिलालाई स्तनपान सम्बन्धि ज्ञान र टेक्निक सिकाउनुपर्छ । स्तनपान सिकाउने जनशक्ति पर्याप्त हुनुपर्छ । कतिपय महिला बाहिर काम पनि गर्छन । सरकारले ३ महिना सुत्केरी बिदा दिएको छ तर अनिवार्य ६ महिना सम्म स्तनपान गराउनुपर्छ । बंगलादेशमा सुत्केरीलाई ६ महिनाको छुट्टि दिइन्छ । भारतका कतिपय स्टेटमा समेत ६ महिनाको छुट्टि दिने गरिन्छ । त्यसकारण स्तनपानलाई बढावा दिन सुत्केरी बिदा बढाउनुपर्छ ।

बच्चालाई स्तनपान कसरी गराउने ?

सुशीला अधिकारी, पीडियार्टीक नर्स

आमा पोजिसनमा बस्नुपर्छ । बच्चालाई राम्रोसँग सिधा गरेर समात्ने । बच्चालाई स्तनको नजिक लगेपछि सी आकारले समात्नुपर्छ । स्तनको कालो भाग बच्चाको मुख भित्र गएको हुनुपर्छ । बच्चाले राम्रोसँग दुध चुसेको छ छैन हेर्नु पर्छ । बच्चाको तलको ओठ पछाडी फर्किएको हुनुपर्छ । आमाको स्तनको मुन्टा मुखमा परिसकेपछि बच्चाले मुख आँ गरेर आफै खान सुरु गर्छ ।

काममा जाने महिलाले कसरी स्तनपान गराउने ?
काममा जाने आमाले दुध निकालेर पनि बच्चालाई खुवाउन सक्छन । निकालिएको दुधलाई कोठाको तापक्रमा ८ घण्टा र फ्रिजमा २४ घण्टा सम्म राख्न सकिन्छ । ठुलो मुख भएको बट्टामा हालेर बच्चालाई खुवाउन सकिन्छ । दुधलाई तताएर खुवाउनु हुँदैन । तर बट्टामा हालेको दुधलाई केहि समय तातोपानीमा डुबाएर खुवाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्