Logo
|
Saturday 16th October 2021
E-paper Magazine

नेपालमा आँखा स्वास्थ्य सेवाको इतिहास

डा. रामप्रसाद पोखरेल



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा आँखा सेवा विकासको इतिहास लामो छ । नेपालमा राष्ट्रिय अन्धोपन सर्वेक्षण शुरु हुनुभन्दा पहिला नेपाल आँखा अस्पताल शुरु भएको हो । जब सन् १९७१ मा बेलायतबाट फर्केर काठमाडौं आएँ र बीर अस्पतालमा काम गर्न शुरु गरेँ । त्यो बेला आँखाको दयनीय अवस्था थियो । त्यो बेलामा दुवै आँखा अन्धा भएर डोकोमा बोकेर ल्याइएका मानिसहरुलाई एक वर्षको पखाई तालिकामा राख्नुपर्दथ्यो । त्यो बेला बीर अस्पतालमा आँखा उपचारका लागि १६ शैया थियो । आँखा पाकेका र चोटपटक लागेर आएकाहरुले शैया भरिएका हुन्थे । अस्पतालमा शल्यक्रिया गर्ने पालो ३ घण्टाका लागि हप्तामा एकपटक आउँथ्यो । त्यो बेला हरेक वर्ष करिब ५ सय जतिको आँखाको शल्यक्रिया हुन्थ्यो । राजधानीबाहिर दोलखा, जुम्ला, नेपालगञ्जलगायत देशका धेरै जिल्लामा आँखा शिविर सञ्चालन गर्दै जाँदा अन्धोपनको समस्या विकराल पाएँ । यो सरकारले मात्र गर्न नसक्ने भएकाले आँखा उपचार सेवा छुट्टै शुरु गर्नुपर्ने महसुस भयो ।यसबारे स्वास्थ्य मन्त्रालयसँग कुरा गर्दा आँखाका बिरामी तुरुन्त नमर्ने भएकाले हैजा, झाडापखाला, औलो उपचारलगायत सरुवा रोगहरुलाई प्रमुख प्राथमिकता राखिएको जवाफ पाएँ । त्यसपछि आँखा उपचारलाई सहयोग गर्न सक्ने मानिसको खोजीमा सन् १९७४ मा काठमाडौं नगरपालिकामा एउटा बैठकको आयोजना गरेँ । बैठकमा उपस्थित हुन स्वास्थ्य सेवा विभागका तत्कालीन निर्देशकलाई पनि निमन्त्रणमा पठाइएको थियो । तर स्वास्थ्य विभागको बिना अनुमति बैठक आयोजना गरेको भन्दै थुनामा राखेर कारबाही गर्नेसम्म चिठी पठाए । तर हामीले बैठकलाई निरन्तरता दियौं । नेपाल आँखा अस्पताल निर्माण गर्ने सहमति भयो । अस्पताल निर्माणका लागि जग्गा, पैसा र ठाउँको खोजी भइरहेको बेला एकजना व्यक्तिले त्रिपुरेश्वरमा गुठी अन्तर्गत धर्मशाला रहेको र त्यहाँ अस्पताल बनाउँदा राम्रो हुने सुझाव दिए । त्यो बेला अच्युतराज पाण्डे गुठीका अध्यक्ष थिए । तर उनले सो जग्गाको लागि राजामा बिन्ति जाहेर गर्नुपर्ने बताए । त्यसपछि तत्कालीन राजा बीरेन्द्र बीरबिक्रम शाहलाई बिन्ति जाहेर गर्यौं । उनले राम्रो काममा बाधा नभएको र प्रधानमन्त्री र गुठीका अध्यक्षको सिफारिस आवश्यक भएको बताए । त्यो बेला समाजसेवी बद्रीबिक्रम श्रेष्ठलगायतका व्यक्तिलाई लिएर तत्कालीन प्रधानमन्त्री नरेन्द्रप्रसाद रिजाल कहाँ गयौं । अस्पताल निर्माणका लागि धर्मशालाको पश्चिमपट्टीको आधा भाग दिने र गुठीलाई आवश्यक परेको बेला फिर्ता गर्ने गरी सहमति भयो । त्यो चिठी गुठी संस्थानबाट प्राप्त भयो । धेरै व्यक्तिको सहयोगमा धर्मशालाको जिर्णोद्धार गरियो । लुन करणदास चौधरीले सरसफाइ गर्ने जिम्मेवारी लिइदिनुभयो । छिरिङ तेन्जिङ लामाले निर्माण कार्यमा सहयोग गर्नुभयो । अन्य धेरै व्यक्तिको सहयोगमा धर्मशालाको आधा भाग जिर्णाेद्धार गरिएपछि १० शैयाको अस्पताल शुरु भयो । उपचारका लागि आवश्यक पर्ने उपकरण थिएनन् । त्यसैले शुरुमा ओपिडी सेवाका लागि आवश्यक पर्ने माइक्रोस्कोप कुर्सीलगायतका सामाग्री घरैबाट लगेर काम शुरु गरेँ । हरेक दिन बिहान बीर अस्पतालमा काम गर्थेँ र दिउँसो २ देखि ५ बजेसम्म रहेको खाली समय आँखा अस्पतालमा काम गर्न थालेँ । आँखाका बिरामीहरु आउन थाले । राम्रो हुँदै आयो । मैले गरेको आँखा उपचारबाट प्रभावित भएर एकजना क्यानेडिएन प्रभावित भए र उनको सहयोगबाट क्यानेडिएन सरकार सहयोग गर्न इच्छुक भयो । शुरुमा दाताले ४० लाख रुपियाँ सहयोग उपलब्ध गराएका थिए । त्यसैले नेपाल आँखा अस्पताल निर्माणमा सबैभन्दा धेरै सहयोग क्यानेडिएन सरकार, केही नेपाल सरकार र केही जापानिज सरकारको सहयोग रहेको छ । आँखा अस्पताल स्थापनापछि नेपाल नेत्रज्योति संघ शुरु भएको थियो । आँखा अस्पताल उद्घाटनको शिलसिलामा तत्कालीन बडामहारानीले राजधानीबाहिर पनि आँखा उपचार सेवा दिन गरिएको आग्रहअनुरुप नेपाल नेत्रज्योति संघको स्थापना गरिएको हो । नेपाल आँखा अस्पताल १९७४ र नेपाल नेत्रज्योति संघ १९७८ मा स्थापना भएको हो । त्यसपछि विभिन्न दातृ संघसंस्थाहरुको सहयोगमा सन् १९८१ मा राष्ट्रिय अन्धोपन सर्वेक्षण सम्पन्न भयो । सर्वेक्षणले अन्धोपन गराउने मुख्य कारणहरुमा पहिलो नम्बर मोतियाबिन्दु, दोस्रोमा ट्रकोमा र तेस्रोमा जिरोथाल्मिया (कुपोषणका कारण हुने अन्धोपन) देखियो । यो सर्वेक्षणले नेपालको अन्धोपनको स्थितिबारे स्पष्ट जानकारी प्राप्त भयो । शेर्पा जातिमा ७० वर्ष, बाहुन क्षेत्रीमा ६० वर्ष र थारुहरुमा ४५ वर्षमा मोतियाबिन्दु हुने पत्ता लाग्यो । तराइमा सबैभन्दा धेरै मोतियाबिन्दु देखियो । नेपालगञ्ज बाँके बर्दियालगायतका पश्चिम तराइका जिल्लाहरुमा ट्रकोमा धेरै देखियो । शुरुमा मोतियाबिन्दु कम गर्ने अभियान थालनी भयो । त्यति बेला थोरै चिकित्सक थिए । शुरुमा जनशक्ति उत्पादन गर्नुपर्ने चुनौति थियो भने आँखा शिविर गरेर मोतियाबिन्दु समस्या कम गर्नुपर्ने अर्को समस्या थियो । यसका लागि देश विदेशबाट समेत चिकित्सक झिकाइयो । चिकित्सकलाई राम्रो भत्ता, अत्याधुनिक उपकरण, सवारी साधन किनेर धेरै आँखा शिविर सञ्चालन गरियो । हरेक अञ्चलनमा एउटा आँखा अस्पताल स्थापना गर्न विभिन्न दातृ संस्थाहरुलाई गुहारियो । जस्तोः सगरमाथा अञ्चलका लागि जर्मनी, लुम्बिनी अञ्चल अमेरिकन एन्जिओ, भेरि अञ्चलका लागि स्वीस रेडक्रस, सेती र महाकाली नेदरल्याण्ड सरकारले जिम्मा लियो । यसरी मित्र राष्ट्रहरुले हाम्रा विभिन्न अञ्चलमा आँखा अस्पताल स्थापना गरेर ठूलो गुन लगाएका छन् । सरगमाथको लहानमा जर्मनका डाक्टर हेनिङले १ वर्ष काम गरेर सगमाथा चौधरी आँखा अस्पताललाई विश्वको दोस्रो ठूलो आँखा अस्पतालका रुपमा परिचित गराउन सफल भए । आफ्नो क्षेत्रमा कटिबद्ध भएर काम गरेमा जनसहभागिता पनि जुट्दो रहेछ । नेत्रज्योति संघअन्तर्गतका अस्पताल बनाउन नेपाल सरकारका साथसाथै जनसहयोग पनि उत्तिकै प्राप्त भएको छ । लहानको सगरमाथा चौधरी आँखा अस्पताल खोल्न त्यहाँको चौधरी परिवारको ठूलो देन छ भने भैरहवाको रणअम्बिका आँखा अस्पताल खोल्न रणबहादुर शाहको ठूलो देन छ । यस्तै नेपाल सरकाबाट पनि दाङको आँखा अस्पताल खोल्न नेपाल सरकारबाट १० विगाहा जग्गा प्राप्त भयो भने सुदुर पश्चिमको गेटा आँखा अस्पताललाई पनि १० बिगाहा जग्गा प्राप्त भएको थियो । अब आँखा उपचारका लागि विदेश जानु पर्दैन । भारतका नागरिकहरु पनि आँखा उपचार सेवा लिन नेपाल आउने गरेका छन् । (डा. श्रेष्ठ वरिष्ठ नेत्र विशेषज्ञ हुनुहुन्छ, उहाँ नेपालको आँखा बा का रुपमा पनि परिचित हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्