Logo
|
Wednesday 22nd January 2025
Logo

epaper

बजारमा गुणस्तरहीन औषधि बिक्री भइरहेको गुनासो आएपछि निगरानी बढाउन स्वास्थ्यमन्त्री गिरीको निर्देशन



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बजारमा छ्यापछ्याप्ती गुणस्तरहीन औषधिहरु बिक्री भइरहेको गुनासो आइरहेको भन्दै सबै ठाउँमा निगरानी बढाउन निर्देशन दिनुभएको छ ।

मंगलवार औषधि व्यवस्थापन विभागको अनुगमन तथा ब्रिफिङ लिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विभागलाई यस्तो निर्देशन दिनभएको हो । उहाँले सिमित क्षेत्रको भन्दा पनि अब सबै ठाउँका फार्मेसीहरुको निरीक्षण र नियमन गर्न आवश्यक रहेको बताउनु भयो ।

‘बजारमा अहिले पनि गुणस्तरहीन औषधिहरु छ्यापछ्याप्ती छ भन्ने सुनेका छौँ । तपाईहरुले सर्टेन ठाउँको स्याम्पेलिङ गर्नुभयो । पछिल्लो समय ७ प्रतिशत गुणस्तरहीन औषधि भेटियो भन्नुभयो, सबै ठाउँमा पुग्ने हो भने यसको आँकडा बढेर जानसक्छ,’ उहाँले भन्नुभयो, ‘यसतर्फ हामीले कुनैपनि हिसावले जनशक्ति छैन, वा यो त्यो छैन भन्ने बहानामा नागरिकको स्वास्थ्यमा खेलबाड गर्नु हुँदैन । त्यसमा सम्पूर्ण रुपले प्रतिवद्ध भएर विभागले आफ्ना कार्य अघि बढाउनुपर्छ । मन्त्रालयले के सहयोग गर्नुपर्छ गर्नेछ ।’

अनुगमन तथा नियन्त्रणका सवालमा जनशक्ति छैन, केही लिमिटेशनहरु छन् भन्ने लगायतका इत्यादि कुराले गर्न सकेका छैनौँ भन्न नपाइने उहाँले बताउनुभयो । ‘यो मैले स्पष्ट रुपमा भनेको छु, प्रभावकारी कार्यान्वयन होस् । सातै प्रदेशमा औषधि विभागका कार्यालयहरु स्थापना गर्नुपर्छ, आवश्यक जनशक्ति व्यवस्थापन गर्नुपर्छ, अनुगमन र नियमनलाई प्रभावकारी बनाएर जानुपर्छ । यी कुरामा आउने वर्षमा ठोस योजनाका साथ विभाग अघि आओस् । छिटो भन्दा छिटो कार्य योजनाका साथ आउन निर्देशन दिन्छु,’ उहाँले भन्नुभयो ।

साथै उहाँले अत्यावश्यक औषधि उत्पादनमा नेपाल आफैँ जुट्नुपर्ने पनि बताउनुभयो । ‘हामी त्यसमा आत्मनिर्भर बन्ने योजना बनाउनु पर्छ ।

अत्यावश्यक औषधिहरु नेपालमै बनाउने कार्ययोजना बनाउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘मलाई व्यापारीहरुले भन्नुभयो– फार्मेसी दर्ता गरेका छाँै, नवीकरणका लागि हरेक वर्ष काठमाडौं जानुपर्छ, तर यसलाई झन्झटिलो बनाउने होइन, गुणस्तरीय सेवा दिने कुरामा,नियमन र अनुगमनको कुरामा निर्मममतापूर्वक कडाइ गर्नुपर्छ । तर दर्ता गर्ने, नवीकरण गर्नेदेखि लिएर अन्य राज्यले दिने कुराहरुमा सहज र खुकुलो वातावरण बनाइदिनुपर्छ । सकिन्छ भने अनलाइन सिस्टमबाट नै यो कुरा गर्नुपर्छ । अबको दुनियाँमा यो कुनै ठूलो कुरा होइन ।’

मन्त्री गिरीले स्वास्थ्य विभागमा पूर्वाधारको दुरावस्था रहेको भन्दै पूर्वाधारको निर्माण गरेर अघि बढ्न निर्देशन दिनुभयो । उहाँले स्वास्थ्यको क्षेत्रमा अब नेपालमा आधारभुत रुपले जनताले अनुभुति गर्नेगरी स्वास्थ्य क्षेत्रको सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्