Logo
|
Saturday 27th July 2024
Logo

epaper

औषधी खरिदमा ढिलाइ गर्दा स्वास्थ्य संस्थामा बिरामीलाई समस्या, निःशुल्क घोषणा गरेका औषधी किन्नुपर्ने बाध्यता



जनस्वास्थ्य सरोकार, दाङ । सरकारले निःशुल्क घोषणा गरेका यी औषधी बिरामीले सहजै पाउनुपर्ने भए पनि घोराही उपमहानगरपालिकाले औषधी खरिदमा ढिलाइ गर्दा स्वास्थ्य संस्थामा बिरामीलाई समस्या हुने गरेको छ ।

निःशुल्क घोषणा गरेका औषधी नागरिकले बाहिर किन्नुपर्ने बाध्यता छ । घोराही उपमहानगरपालिकाका सहरी प्रवर्धन केन्द्रमा सिटामोल, एन्टासिट, जीवनजल, एस्पिरिनलगायतका अत्यावश्यक औषधि नपाइने गोरखापत्रले जनाएको छ ।

मङ्सिरसम्म औषधी भए पनि पछिल्लो समय औषधी सकिँदा बिरामीलाई बाहिर खरिद गर्न सुझाव दिने गरेको नारायणपुर सहरी प्रवर्धन केन्द्रका प्रमुख डिल्लीराज आचार्य बताउनुहुन्छ ।

औषधि नहुँदा ज्वरो आएका, टाउको दुख्ने, चोटपटक लागेका बिरामीले निःशुल्क पाइने औषधी किन्नुपर्ने बाध्यता छ ।

उपमहानगरले समयमै औषधी व्यवस्थापन गर्न नसक्दा नगर अन्तर्गत रहेका स्वास्थ्य संस्थाहरूमा औषधी अभाव भएको छ तर उपमहानगरपालिकाले टेन्डर आह्वान गरे पनि कसैले ठेक्का नलिँदा औषधी खरिद गर्न नसकेको जनाएको छ ।

नागरिकलाई निःशुल्क उपलब्ध गराउनुपर्ने औषधी टेन्डरमार्फत ल्याउनुपर्ने भएका कारण ढिलाइ भएको घोराही उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण घर्ती बताउनुहुन्छ । दुई पटक टेन्डर आह्वान गरे पनि ठेक्का लागेको छैन  । हाल १८ प्रकारका औषधी मगाए पनि १७ प्रकारका औषधी मात्रै आएको छ । उपमहानगरले अहिले चार लाख बजेटमा औषधी खरिद गरेको छ । बाँकी औषधि खरिद गर्ने प्रक्रियामै छ ।

औषधी खरिदकै लागि भनेर सङ्घीय सरकारबाट ३५ लाख रुपियाँ बजेट आएको छ । घोराही उपमहानगरले २५ लाख रुपियाँ औषधी खरिदका लागि छुट्याएको छ । त्यसैले औषधी खरिदमा ढिलाइगर्न नहुने बुद्धिजिवीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्