भूकम्पले ४ सय ८४ स्वास्थ्य केन्द्र ध्वस्त
जनस्वास्थ्य सरोकार । गत वैशाख महिनामा गएको भूकम्पका कारण देशभरका करिब ४ सय ८४ स्वास्थ्य केन्द्र पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । यसैगरी आंशिक रुपमा क्षतिग्रस्त भएका स्वास्थ्य केन्द्रहरुको संख्या ४ सय ७४ पुगेको छ । भूकम्पबाट क्षतिग्रस्त प्राथमिक स्वास्थ्य सेवालाई पुर्नस्थापना गर्न देशभरका भूकम्प अति प्रभावित १४ जिल्लाहरूमा अत्यावश्यक सामाग्री सहितका ५० वटा स्वास्थ्य शिविरहरू स्थापना गरिने भएको छ । विश्व स्वास्थ्य संगठनद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व खाद्य कार्यक्रमको समन्वयमा शिविर स्थापना गरिने भएको हो । यस्ता स्वास्थ्य शिविरहरू वर्षा मौसम सुरु हुनुअघि नै सञ्चालनमा ल्याइने विश्व स्वास्थ्य संगठनले जनाएको छ । दूरदराजका क्षेत्रहरूमा आधारभूत स्वास्थ्य सेवालाई पुर्नस्थापना गर्न यो महत्वपूर्ण कदम मानिएको छ ।
शिविरहरूमा पुरुष, महिला तथा परामर्शको लागि छुट्टै कक्षको व्यवस्था हुनेछ । सौर्य ऊर्जावाट संचालित शिविरमा खानेपानी र सरसफाइका सामाग्रीहरूसँगै प्रजनन स्वास्थ्यका लागि आवश्यक सामग्रीहरू पनि उपलब्ध हुनेछन् । यी सामाग्रीहरूका लागि युनिसेफ, अन्तर्राष्ट्रिय आप्रवासी संगठन तथा इन्टरनेसनल मेडिकल कर्पस्ले आवश्यक सामग्री उपलब्ध गराएका छन् ।
नेपालका लागि विश्व स्वस्थ्य संगठनका निमित्त प्रतिनिधि डा. फ्र्याङ्क पाउलिनका अनुसार भूकम्प पश्चात्को अवस्थामा विदेशी स्वास्थ्य टोलीहरू परिचालन गरिएकाले स्वास्थ्य सेवामा सम्भाव्य अभावलाई कम गर्न सहज भएको छ । अझैपनि सेवाहरूलाई सामान्य अवस्थामा फर्काउनु, स्वास्थ्य सेवामा पहुँच बढाउनु र पुनर्निर्माणको काम सुरु गर्नु अत्यन्तै आवश्यक छ । विभिन्न अत्यावश्यकीय सामाग्री सहित सुसज्जित स्वास्थ्य शिविरहरूले वर्षाको समयमा पनि स्वास्थ्य सेवालाई सुचारु गर्न सहयोग गर्नेछन् । यो समयमा स्थायी संरचनाहरु निर्माण गर्न समय अभाव हुन्छ । विदेशी स्वास्थ्य टोलीहरूले गरेको काम सह«ानीय छन् , तर अहिले जिल्लाहरूमा थोरै मात्र त्यस्ता टोलीहरू बाँकी छन् । अधिकांश स्वास्थ्य चौकीहरू काम नलाग्ने अवस्थामा छन्, जसले गर्दा स्वास्थ्य सेवा लिनका मानिसहरू टाढा टाढासम्म पुग्नुपरेको छ” उहाँले भन्नुभयो, “त्यसैले यस्ता स्वास्थ्यशिविरहरूले स्वास्थ्य सेवाको उपलब्धता र त्यसमापहुँच बढाउनेछ ।” डा. पाउलिनका अनुसार प्रभावित मानिसको आवश्यकता परिपूर्ति होस् भन्ने उद्देश्यले त्यस्ता स्वास्थ्य सेवाशिविरहरूलाई रणनीतिक स्थानहरूमा राखिनेछन् । “यी शिविरहरूलाई कहाँ स्थापित गर्ने भन्ने कुराको निर्णय गुणात्मक तथा संख्यात्मक तथ्यहरूका आधारमा गरिनेछ । हामी तथ्यांकमा आधारित अवधारणाका साथसाथै समुदायको यथार्थ र भूकम्पपश्चात् उनीहरूको अवस्था समेतलाई ध्यानमा राखेर यो निर्णय गर्नेछौं,” उहाँले भन्नुभयो ।