Logo
|
Saturday 20th April 2024
Logo

epaper

परिवार नियोजनको अधिकार महिलालाई हुनुपर्छ सभामुख



सभामुख ओनसरी घर्तीमगरले कति शिशु जन्माउने र कति जन्मान्तर बनाउने भन्ने निर्णय गर्ने अधिकार महिलालाई हुनुपर्ने बताउनुभएको छ ।

विश्व जनसंख्या दिवसका अवसरमा आज राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घर्तीमगरले यस्तो अधिकारले महिलालाई उत्पादनशील कार्यमा लाग्न अनुकूल वातावरण बनाइदिन्छ भन्नुभयो ।

दुर्गम गाउँमा बस्ने एक महिलाले छवटी छोरी जन्माउँदासम्म छोरा पाउन पतिले दिएको दबाबलाई नेपाली समाजको एउटा तीतो यथार्थको रुपमा लिन पनि आग्रह गर्नुभयो ।

सन् १९८९ देखि हरेक वर्ष जुलाई ११ का दिन विश्व जनसंख्या दिवस मनाइँदै आइएको छ । यसवर्ष विश्व जनसंख्या दिवसको नारा ‘मानव सशक्तीकरण र समृद्ध राष्ट्रका लागि परिवार नियोजन’ भन्ने छ ।

नेपालमा सन् १९९० देखि लगातार जनसंख्या दिवस मनाइँदै आइएको छ । विसं २०५६ मा विद्यालय तहमा जनसंख्या शिक्षा विषय पढाउन थालिएपछि नेपालमा जनसंख्या नियन्त्रण सम्बन्धमा विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन् । नेपालले यस वर्ष व्यवस्थित परिवार ः समृद्ध राष्ट्रको आधार भन्ने नाराका साथ तीन दिन यो दिवस मनाउँदै छ ।

संयुक्त राष्ट्रसंघीय जनसांख्यिक कोष ९युएनएफए० का राष्ट्रिय प्रतिनिधि जुलिया भ्यालेन्सले जनसंख्या वृद्धिमा नेपाली युवा–युवतीको संख्या आकर्षक रहेको बताउँदै जनसंख्या नियन्त्रणमा सरकारले लगानीमा वृद्धि गर्नुपर्ने सुझाव दिनुभयो ।

सन् १९८७ मा विश्वमा पाँच अर्ब जनसंख्या पुगेपछि जनसंख्या सम्मेलन ९पपुलेसन समिट० ले जनसंख्या दिवस मनाउने निर्णय गरेको थियो । एक अध्ययनअनुसार सन् २०१७ अप्रिल २४ सम्म विश्वको जनसंख्या सात अर्ब ५० करोड पुगेको उल्लेख छ ।

विसं २०६८ को जनगणनाअनुसार नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ पुगेको छ जसमा पुरुषको संख्या एक करोड २८ लाख ४९ हजार ४१ र महिलाको संख्या एक करोड ३६ लाख ४५ हजार ४६३ छ । नेपालमा प्रत्येक १० वर्षमा राष्ट्रिय जनगणना गरिन्छ ।

नेपालमा जनसंख्या वृद्धिदर १ दशमलव ०३५, जनघनत्व प्रतिवर्ग किमी १८०, कृषिमा आबद्ध ६५ दशमलव ०६ प्रतिशत, कोरा जन्मदर ९हजारमा० २४ दशमलव ३, कोरा मृत्युदर ९हजारमा० ८ दशमलव ३, घरपरिवार संख्या पाँच लाख ४२ हजार ७०२, शिशु मृत्युदर ४४ प्रतिशत र र औषत आयु ६४ दशमलव १ वर्ष रहेको छ ।

त्रिभुवन विश्वविद्यालय जनसंख्या विभागका प्रमुख डा रामशरण पाठकले भन्नुभयो – “नेपालमा अशिक्षा, गरिबी र परम्परागत सोचाइले जनसंख्या वृद्धि रोक्न सकिएको छैन । छोरा पाउँदा खुशी हुने र छोरी पाउँदा दुःखी हुने नेपाली समाजमा सकारात्मक सन्देशको भावना फैलाउन जरुरी छ ।”
युएनएफएका अनुसार विश्वमा विवाहित महिलामध्ये ५३ प्रतिशतले परिवार नियोजनका साधन अपनाइरहेका भए पनि उचित ढङ्गले त्यस्ता साधनको प्रयोग भएको छैन । रासस

प्रतिक्रिया दिनुहोस्