Logo
|
Tuesday 16th April 2024
Logo

epaper

बाढीपीडितलाई एनआरएनको स्वास्थ्योपचार सेवा



गैरआवासीय सङ्घ नेपाल (एनआरएन) का अध्यक्ष शेष घले नेतृत्वको टोली र विभिन्न सङ्घसंस्थाले सप्तरीको बाढी प्रभावित क्षेत्रमा राहत वितरण एवं स्वास्थ्य उपचार गरेको छ ।

सप्तरीको तिलाठीस्थित राप्राविमा त्यहाँ रहेका करिब ९०० भन्दा बाढी पीडित परिवारलाई राहत वितरण गरेको छ ।

उनीहरूको परिवारलाई एउटा त्रिपाल, एक थान झुल, २५ किलो चामल, दुई किलो दाल, नून, चिनी र तेललगायतका राहत प्याकेज वितरण गरिएको एनआरएनले आज राससलाई जनाएको छ ।

एनआरएनले हालसम्म करिब तीन हजार घरपरिवारलाई राहत वितरण गरिसकेको एनआरएनको दाबी छ । एनआरएनको टोलीले नेपाल सरकारसँग समन्वय गरी सप्तरी जिल्लाका बाढीपीडितलाई मंगलबारदेखि विभिन्न प्रभावित क्षेत्रमा लगातार राहत बाँड्दै आएको बताइएको छ ।

बाढीको प्रकोप शुरु भएसँगै गैरआवासीय नेपाली सङ्घले आपत्कालीन राहत कोष स्थापना गरी रकम संकलन अभियान शुरुसमेत गरेको थियो । त्यस्तै एनआरएनले सप्तरीमा स्वास्थ्य शिविर पनि सञ्चालन गरेको छ ।

“बाढी र डुबानबाट प्रभावित सप्तरीको देबर्साइन, रम्पुरा महलनीया, सकरपुरा डलवा, मैनाकडेरी, पोर्ताहा, भारदह र तिलाठीलगायतका ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेको सो संस्थाले जनाएको छ ।

एनआरएनको स्वास्थ्यकर्मीको टोलीमा पाँचजना विशेषज्ञ डाक्टर र १० जना नर्स तथा स्वयंसेवकले उपचार गराइरहेको बताइएको छ ।

करिब एक हजार ५०० बाढीपीडितलाई अहिलेसम्म उपचार गरी औषधि पनि वितरण गरिएको छ ।

खासगरी उपचार गर्न आएका धेरैजसोमा पेट दुख्ने, झाडा बान्ता हुनेजस्ता समस्या देखिएको स्वास्थ्यकर्मीको टोलीले जनाएको छ ।
राहत कोषमा अध्यक्ष घले र उनकी पत्नी जमुना गुरुङले रु एक करोड सहयोग गरेका थिए । झण्डै रु दुई करोड संकलन गरी करिब पाँच हजार परिवारलाई राहत वितरण गर्ने लक्ष्यसहित एनआरएनको टोली सप्तरी आएको बताइएको छ ।

यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घ काठमाडौँले पनि एक दिन अगाडि सप्तरीको बाढीपीडितलाई विभिन्न ठाउँमा राहत सामग्री र स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरेको छ ।

उद्योग वाणिज्य सङ्घ सप्तरीको सहकार्यमा राजविराज नगरपालिका वडा नं २ का ५१ जना बाढीपीडित परिवारलाई राहत वितरण एवं स्वास्थ्य परीक्षण गरिएको उद्योग वाणिज्य सङ्घ सप्तरीका अध्यक्ष अरूण प्रधानले आज राससलाई जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत एवं दैवी प्रकोप उद्धार समितिका ‘फोकल पर्सन’ जनक कोइरालाको उपस्थितिमा प्रतिपरिवार १० केजी बास्मती प्रिमियम चामल, तीन केजी मसुरोको दाल, एक थान त्रिपाल, एक कार्टुन खानेपानी र लत्ताकपडा वितरण गरिएको बताइएको छ ।

त्यस्तै राजविराज–११ फर्सैठमा सञ्चालन गरेको स्वास्थ्य शिविरमार्फत ३५० जना बाढीपीडितलाई स्थास्थ्य उपचारपछि औषधि वितरण गरिएको उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

ब्लु क्रस हस्पिटल, काठमाडौँका विशेषज्ञ डा स्मिता राई र हेल्थ असिस्टेन्ट पोखरी ढकालको नेतृत्वमा आएको सातजना नर्सको टोलीले स्वास्थ्य उपचारपछि विभिन्न प्रकारका औषधि वितरण गरिएको थियो ।  रासस

प्रतिक्रिया दिनुहोस्