Logo
|
Thursday 18th April 2024
Logo

epaper

बैतडीः स्वास्थ्य बीमा गर्नेको संख्या बढ्दै



बैतडीमा स्वास्थ्य बीमा गर्नेको संख्या बढ्दै गएको छ ।

स्वास्थ्य बीमाको फाइदाका बारेमा जानकारी प्राप्त भएपछि स्वास्थ्य बीमामा आकर्षण बढेको स्वास्थ्य बीमा कार्यक्रमका जिल्ला प्रबन्धक जनक साउदले बताउनुभयो ।

गतबर्ष पुस ७ गतेदेखि बैतडीमा स्वास्थ्य बीमाको दर्ता प्रक्रिया शुरु भएकोमा २०७३ फागुनबाट सेवा दिने काम शुरु भएको थियो । हालसम्म तीनहजार २७ जनाले स्वास्थ्य बीमा गरेको साउदले जानकारी दिनुभयो । पाँच जनासम्मको परिवारले रु दुईहजार ५०० तिरेमा रु ५० हजारसम्मको उपचार निःशुल्क गर्ने गरिएको छ ।

सूचीकृत अस्पतालमा मात्रै निःशुल्क उपचार हुने उहाँले बताउनुभयो । पाँच जनाभन्दा बढी संख्या भएको परिवारका लागि रु ४२५ का दरले थप शुल्क लाग्ने बताइएको छ ।

जिल्लामा स्वास्थ्य बीमा गरेकामध्ये ३२७ जनाले सेवा समेत लिइसकेका छन् । स्वास्थ्य बीमाअन्तर्गत शुरुमा ५३० प्रकारका औषधि निःशुल्क रुपमा दिने व्यवस्था गरिएको भए पनि अहिले ९२८ प्रकारका औषधि निःशुल्क प्रदान गर्ने गरिएको साउदले बताउनुभयो । स्वास्थ्य बीमाका लागि जिल्लाभरि दर्ता सहयोगी रहेको सामाजिक सुरक्षा विकास समिति बैतडीले जनाएको छ ।

अल्ट्रासाउण्ड सेवापछि मातृ मृत्युदरमा कमी

यसैबीच, बैतडीमा चार ठाउँबाट गर्भवतीका लागि अल्ट्रासाउण्ड सेवा सञ्चालनमा आएपछि मातृ मृत्युदरमा कमी आएको छ ।

अल्ट्रासाउण्ड सेवा सञ्चालनमा आएसँगै गर्भवतीको अवस्थाका बारेमा जानकारी पाइने भएकाले मातृ मृत्युदरमा कमी आएको हाट स्वास्थ्य चौकीका इन्चार्ज विनोदकुमार कुँवरले जानकारी दिनुभयो ।

अल्ट्रासाउण्ड सेवा सञ्चालनमा आएसँगै गर्भवतीमा देखिने जटिलताका बारेमा समयमै थाहा हुने र सुविधा सम्पन्न अस्पतालमा रिफर गर्न सकिने भएकाले मातृ मृत्युमा कमी आएको उहाँले बताउनुभयो ।

हाट स्वास्थ्य चौकी, पाटन प्राथमिक स्वास्थ्य केन्द्र, केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालबाट अल्ट्रासाउण्ड सेवा सञ्चालन भइरहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका पब्लिक हेल्थ नर्स ममता जोशीले बताउनुभयो ।

ग्रामीण क्षेत्रमा गर्भवतीका लागि अल्ट्रासाउण्ड सेवा सञ्चालनमा आएपछि आर्थिक अवस्था कमजोर भएका नागरिकका लागि सजिलो भएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट मुकेश दयालले बताउनुभयो ।

पैसाको अभावमा टाढा गएर गर्भवतीको अवस्थाका बारेमा जाँच गराउन नसक्ने नागरिकका लागि ग्रामीण अल्ट्रासाउण्ड बरदान सावित भएको उहाँले बताउनुभयो ।
अहिले हाट, पाटन, मेलौली मात्रै महिनाको ६० भन्दा बढी गर्भवतीले अल्ट्रासाउण्ड सेवा लिइरहेका छन् । तीमध्ये महिनामा कम्तीमा तीन/चार जनालाई रिफर गर्नुपरिरहेको हाट स्वास्थ्य चौकीका इन्चार्ज कुँवरले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्