Logo
|
Thursday 25th April 2024
Logo

epaper

कसले गर्यो २५ सय लागुऔषध प्रयोगकर्ताको उपचार ?



नेपाल प्रहरी श्रीमती संघद्वारा सञ्चालित आसरा सुधार केन्द्र रानीबारीले गत २० वर्षमा दुई हजार ५१३ लागुऔषध प्रयोगकर्ताको उपचार गरेको छ ।

केन्द्रले लागूऔषध प्रयोगका कारण विसं २०५४ देखि हालसम्म भर्ना भएका चार हजार ७८ मध्ये दुई हजार ५१३ जनाको उपचार गरेको केन्द्रका सचिव रम्भा लामाले बताउनुभयो । केन्द्रमा उपचारका लागि भर्ना भएकामध्ये मानसिक असन्तुलन र शारीरिक अक्षमताका कारण २११ र पूर्णकालीन सुविधा नलिई एक हजार २७२ घर फिर्ता भएका छन् । हाल ७८ जनाले केन्द्रमा उपचार गरिरहेका छन् ।

स्थापनाको २१ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले लागूऔषध दुव्यर्सनलाई रोक्न घरबाटै अभियान चलाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पछिल्लो समय पुरुष सँगसँगै महिला पनि दुव्यर्सनमा फस्दै गएको बताउँदै केन्द्रले महिलाको उपचारका लागि पनि छुट्टै उपचार केन्द्र स्थापना गर्नुपर्ने सुझाव दिनुभयो ।

केन्द्रका अध्यक्ष सीमा अर्यालले देशको उत्पादनशील र विकासका आधारस्तम्भका रुपमा रहेका युवा लागूऔषधको जोखिममा परेकाले तिनको उपचारका लागि केन्द्रले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो ।

संस्थाका सचिव लामाले लागुऔषधमुक्त समाज निर्माण गर्ने तथा लागुऔषध प्रयोगकर्तालाई सभ्य नागरिकका रुपमा स्थापित गर्ने उद्देश्यले केन्द्रले लागूऔषध प्रयोगकर्तालाई योगाभ्यास, खेलकुद, नृत्य, साधनालगायत कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो । कार्यक्रममा केन्द्रको विकास र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका व्यक्ति तथा प्रहरीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्