बिरामीलाई किन राखिन्छ आइसियूमा ?
शरीरका प्रमुख अंगः मुटु, फोक्सो, मिर्गाैला, कलेजोमा गम्भीर समस्या भएमा आइसियूमा
आइसियूको पूरा नाम इन्टेन्सिभ केयर युनिट अर्थात् सघन उपचार कक्ष हो, यस वार्डमा गम्भीर खालका बिरामीलाई राखिन्छ । यससँग सम्बन्धित विज्ञानलाई क्रिटिकल केयर मेडिसिन भनिन्छ ।
रक्तचाप कम भएर औषधि प्रयोग गनुपर्ने, मुटुको रोगी, निमोनिया भएर भेन्टिलेटरमा राख्नुपर्ने अवस्थालगायत सिकिस्त बिरामीलाई आइसियूमा राख्ने गरिन्छ । नियमित रूपमा चिकित्सकको निगरानीमा राख्नुपर्ने बिरामीलाई आइसियूको आवश्यकता पर्छ ।
कस्तो अवस्थामा राखिन्छ ?
- सामान्यतया बिरामीको अवस्था हेरेर २४ देखि ७२ घन्टासम्म (अवलोकन समय) आइसियूमा राख्न सकिन्छ । हेमोडाइनामिक कन्डिसन अर्थात् सबै अंगले राम्रो काम गरेको अवस्थामा आइसियूबाट जनरल वार्डमा सार्न सकिन्छ ।
- शरीरका प्रमुख अंगः मुटु, फोक्सो, मिर्गाैला, कलेजोमा गम्भीर समस्या भएमा आइसियूमा राखिन्छ । फोक्सोमा अक्सिजनको मात्रा कम भएमा बाह्य स्रोतबाट अक्सिजन प्रदान गरिन्छ । बिरामीलाई अवस्था हेरेर १२ देखि १४ लिटरसम्म दिन सकिन्छ । त्यति गर्दा पनि शरीरमा अक्सिजनको मात्रा कम भएमा भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ ।
- मुटुको चालमा हुने गडबडी, टाउकोमा लागेको चोटको कारण होस गुमाउन सक्ने अवस्था भएमा, शरीरमा दुर्घटनाबाट लागेको चोट, शरीरबाट बढी रगत बगेमा वा प्रेसर नियन्त्रण नभएमा आइसियूको आवश्यकता पर्छ ।
आइसियूमा राखिने बिरामी निको हुने सम्भावना एकदम कम हुन्छ भन्ने आमधारणा पनि छ । तर, अन्तर्राष्ट्रिय तथ्यांकअनुसार आइसियूमा उपचार गरिएका बिरामीमध्ये ७० बिरामी पूर्ण रूपमा निको भएका छन् ।
कतिवेला निकालिन्छ ?
- अंगहरूले आफ्नै ढंगले काम गर्न सकेमा आइसियूबाट बिरामीलाई बाहिर निकाल्न सकिन्छ । अर्थात् अक्सिजनको मात्रा सहज परिपूर्ति, औषधिको प्रयोगविना नै रक्तचाप सही भएमा, पिसाब सजिलैसँग बनेमा, मुटुको चाल सामान्य भएमा बिरामीको पूर्ण जाँच गरी आइसियूबाट निकालिन्छ । यसैगरी, सेप्सिस पूर्ण रूपमा निको भएमा (कुनै अंगमा भएको संक्रमण रगतको माध्यमबाट अन्य अंगमा सर्ने रोगलाई सेप्सिस भनिन्छ । जसले बिरामीको शरीरमा एकैचोटि सबै अंगमा असर पु-याउँछ ।) आइसियूबाट बाहिर निकाल्न सकिन्छ ।
- गम्भीर खालका बिरामीलाई मात्र आइसियूमा राखिने भएकाले बिरामी निको हुने सम्भावना एकदम कम हुन्छ भन्ने आमधारणा पनि छ । तर, यो गलत हो । अन्तर्राष्ट्रिय तथ्यांकअनुसार आइसियूमा उपचार गरेका बिरामीमा ७० प्रतिशत बिरामी पूर्ण रूपमा निको भएका छन् ।
(कन्सलट्यान्ट फिजिसियन, छातीरोग विशेषज्ञ डा. प्रकाश पौड्याल नेपाल नेसनल अस्पताल कलंकी मा कार्यरत हुनुहुन्छ । )