Logo
|
Saturday 20th April 2024
Logo

epaper

छालामा बोटक्स उपचार



डा.जेबिना लामा /कस्मेटिक डर्माटोलोजिष्ट

वोटक्स उपचारको प्रयोग आजकल निकै लोकप्रीय भएको छ । पाँच वर्षअघि अलि उमेर भएका व्यक्तिहरु बोटक्स उपचार गर्न आउने गरेकोमा अहिले २५ देखि ३० वर्षका महिला पुरुष दुवै अत्यधिक यो सेवा लिन आउने गरेका छन् ।

यो बिना शल्यक्रिया सुईको माध्यमबाट गरिने उपचार हो । बोटक्स उपचारमा ब्याक्टेरियाको प्रोटिनबाट निकालिएको औषधि इन्जेक्सनको माध्यमबाट सम्बन्धित भागमा प्रयोग गरिन्छ । यसले मांशपेशीलाई आराम गरिदिन्छ र छाला चिल्लो बनाउँछ । यसको प्रयोगले चाउरी परेको छाला तन्काउने भएकाले उमेरदार व्यक्तिलाई जवान देखाउन मद्धत गर्छ । बोटक्स उपचार मेडिकल र एस्थेटिक (सौन्दर्य) सुधार दुवैमा प्रयोग गरिँदै आएको छ ।

बोटक्सले एक सेन्टिमिटरको परिधिभित्र काम गर्ने भएकाले मांशपेशीको सक्रियताको आधारमा कसैलाई थोरै त कसैलाई धेरै युनिट बोटक्सको जरुरत पर्नसक्छ । व्यक्तिको अवस्था अनुसार १५ देखि ५० युनिटसम्म बोटक्स लाग्न सक्छ । यसको मूल्य प्रति युनिट ५ सय देखि ६ सय रुपियाँ पर्छ ।

मेडिकल उपचार

माइग्रेनका कारण हुने टाउको दुखाई, हाइपरएक्टिभ ब्लाडर (छिनछिनमा पिसाब लागि रहने), आँखा झिमझिमाउने रोग, रातको समयमा दाँत किट्ने समस्या जसले दाँत खिइँदै गएको समाधानका लागि पनि बोटक्स उपचार गरिन्छ । यसैगरी काखी, हत्केला, पैतालामा आवश्यक भन्दा बढी पसिना आउने समस्या नियन्त्रणका लागि बोटक्सको प्रयोग गरिन्छ । दुर्घटनामा मसल्स, स्पाइनल कर्डमा चोट लगेर मांशपेशी इन्भोलुन्टरी मुभ (हल्लिरहने) जस्ता समस्यालाई पनि बोटक्स उपचारले नियन्त्रणमा राख्न मद्धत गर्छ ।

सौन्दर्य सुधार
अनुहारको चारीपना समस्या समाधानका लागि बोटक्स उपचार विश्वव्यापी रुपमा एन्टि रिंकल इन्जेक्सन हो । निधार, आँखी भुर्इँको बीच भाग, हाँस्दाखेरि देखिने आँखा वरिपरीको चाउरीपन, नाक खुम्च्याउँदा हुने चाउरिपना आदिमा बोटक्स उपचार गरिन्छ । यसका साथै अण्डा आकारको अनुहारको सेप बनाउन, मोटो घाँटीलाई सानो बनाउन, अनुहारको पोर्सको साइज सानो बनाउन बोटक्स उपचार प्रयोग गरिन्छ ।
एकपटकको बोटक्स उपचारले कति समयसम्म धान्छ ?
चाउरीपना हटाउन गरिएको बोटक्स उपचारको आयु करिब ४ देखि ६ महिनासम्म हुन्छ । ज लाइन स्लिमिङका लागि करिब ६ देखि १२, घाँटी सुरिलो बनाउन करिब ४ देखि ६, पोर्सका लागि करिब २ देखि ३ महिना काम गर्छ । धेरै पसिना आउने समस्यामा करिब ६ महिनाको फरकमा उपचार गर्नुपर्छ । माइग्रेनका लागि करिब ६ महिनाको फरकमा उपचार गर्नुपर्छ । तर कसको मांशपेशी कति सक्रिय छ भन्ने आधारमा बोटक्स उपचारको आयु निर्भर हुन्छ ।
बोटक्स कहिलेदेखि प्रयोग गर्ने ?
प्राय ३० वर्षमुनिका व्यक्तिहरुमा टेम्पोररी चाउरीपना हुने र पछि त्यो पर्मानेन्टमा परिणत हुनसक्ने भएकाले चाउरीपना टेम्पोररी हुँदादेखि नै बोटक्स उपचार प्रयोग गर्दा राम्रो मानिन्छ । पर्मानेन्ट भएपछि बोटक्सले राम्रोसँग काम नगर्नसक्छ ।

यसले साइड इफेक्ट पो गर्ने हो कि ?
बोटक्स छालामा नभई मांसपेशीमा लगाउने भएकाले मांशपेशीको एक्टिभिटी र चाउरीपनाको प्रकारहरु थाहा पाउन जरुरी हुन्छ ।

कहिलेकाँही बोटक्स उपचार गरेको भागमा निलो दाग देखिनसक्छ । तर यो दुई देखि तीन दिनमा आफैं हराएर जान्छ । लामो समयसम्म कुनै पनि साइड इफेक्ट हुँदैन । यसलाई हाम्रो शरीरले नै पचाउँछ ।

 

कस्ता व्यक्तिले बोटक्स प्रयोग गर्न हुँदैन ?
न्युरो मस्कुलर डिस्अर्डर (पार्किन्सन्स), फेसियल प्यारालाईसिस भएका व्यक्तिलाई बोटक्स उपचार प्रयोग गर्न हुँदैन । यसबाहेक मधुमेह, उच्चरक्तचाप, थायराईड डिस्अर्डर भएका व्यक्तिहरुले बिना साइड इफेक्ट ढुक्क भएर यो उपचार सेवा लिन सकिन्छ ।
(डा. जेबिना नक्सालस्थित द स्किन क्लिनिकको मेडिकल डाइरेक्टर हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्