अब नआत्तिनुसःमिर्गौलाको उपचार यसरी सम्भव छ
मिर्गौला रोग खर्चिलो मात्र नभई झन्झटिलो र सुविधा नभएको ठाउँका लागि त मृत्यु बराबर नै हो । मिर्गौलाको रोग ज्यादै डरलाग्दो र खर्चिलो रोग हो । यसबाट बर्षेनी थुपै्र जनाले अकालमै ज्यान गुमाइरहेको र धेरैले दुःख पाइरहेका छन् । स्वर सम्राट नारायगोपाल, डा.डिल्लीरमण रेग्मी, सरदार भीमबहादुर पाण्डे, युगकवि सिद्धिचरण श्रेष्ठ, राजनीतिज्ञ मंगलादेवी सिंह, पूर्व प्रधानसेनापति सिंहबहादुर बस्नेतलगायतका प्रतिष्ठित व्यक्तिहरुको मिर्गौलाको समस्याका ज्यान गएको छ । पछिल्लो समयमा नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीले पनि दुवै मिर्गौला बिग्रिएका कारण प्रत्यारोपण गरेर जिइरहनुभएको छ । नेपालमा हरेक वर्ष ३ हजार व्यक्तिको मिर्गौला बिग्रने गरेको पाइएको छ । हजारौं व्यक्ति मिर्गौला बिर्गेर बसेका छन् । साना बच्चादेखि बूढा, धनिदेखि गरीब, पदमा बसेका र नबसेका सबैलाई मिर्गौला रोग लाग्न सक्छ । यद्यपी मिर्गौलाको उपचार महँगो हुने भएकाले आर्थिक अवस्था मजबूत भएकाहरु जसोतसो बाँच्न सफल भएका छन्, नभएकाहरुका लागि मर्नुको बिकल्प छैन । विगत ३३ वर्षदेखि मिर्गौला रोगको उपचारमा संलग्न हुँदै आउनुभएका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषीकुमार काफ्ले मिर्गौला रोगको उपचारबारे विगत र वर्तमानलाई यसरी सम्झना गर्नुहुन्छ ।
मिर्गौलाको उपचार २०३९
नेपालमा मिर्गौला रोगको उपचार शुरु भएको धेरै भएको छैन । २०३९ सालमा बीर अस्पतालमा मिर्गौला रोग उपचारका लागि विशेषज्ञ बहिरंग सेवा शुरु भएको थियो । यसको शुरुवात् पहिलो वरिष्ठ नेफ्रोलोजिष्ट स्व.डा. पुस्कर राज सत्यालबाट भएको थियो । यसैले स्व. डा. सत्याललाई फादर अफ युरोलोजीका रुपमा सम्मान गरिन्छ । स्व.डा. सत्याल नेफ्रोलोजी विषयमा जर्मनीबाट तालिम प्राप्त गरिसकेको र डायलाईसिसका लागि नेपाल सरकारले गरेको प्रयासमा सामेल भइसकेको व्यक्ति हुनुहुन्थ्यो । यद्यपी बीर अस्पतालमा नेफ्रोलोजी सेवा सञ्चालन भइसकेको अवस्थामा मैले पनि बि.सं.२०३९ सालमा यहाँ सेवा थालेँ ।
डायलाईसिस सेवा २०४५
त्यो बेला हप्ताको एकपटक बहिरंग सेवा हुने गर्दथ्यो । स्थायी भइसकेपछि मलाई पोखरा सरुवा गरियो । त्यसपछि डा. सुधा खकुरेल र डा. राजेन्द्र अग्रवालले बीरमा सेवा शुरु गर्नुभयो । डा. राजेन्द्र अग्रवाल अध्ययनका लागि वंगलादेश गएपछि वीरमा मेरो पुन सरुवा भयो । वीर अस्पतालको बहिरंग भवन उद्घाटन भएपछि २०४२ सालतिर भारत सरकारबाट ३ वटा डायलाईसिस मेसिन प्रदान गरिएको थियो । त्यो बेला डाक्टर, नर्सलाई तालिम दिने सिलसिला चलेको थियो । त्यही सिलसिलामा म लगायत डा. पुस्कर राज सत्याल, डा. सुधा खकुरेललाई डायलाईसिससम्बन्धि तालिमका लागि अल इन्डिया इस्टिच्यूटमा पठाइएको थियो । तालिमबाट फर्किएपछि हामीहरुले डायलाईसिस मेसिन सञ्चालनमा ल्यायौं । २०४५ सालको असोजतिर विधिवत् रुपमा नेपालमा डायलाईसिस सेवा शुरु भयो । त्यो बेला ३ वटा मेसिन ल्याइएको भएपनि २ वटा मेसिनमात्र सञ्चालनमा आएको थियो र सेवा निःशुल्क थियो । सहयोगमा पाएका सामग्रीहरु सकिएपछि डायलाईसिसका लागि लाग्ने अन्य सामान किन्न लगाउने प्रचलन शुरु भयो ।
मिर्गौला उपचारमा शुरुको योगदान
डा. राजेन्द्र अग्रवालले बंगलादेशबाट अध्ययन सकेर आएपछि बीरमा पुनः सेवा शुरु गर्नुभयो । प्रा.डा. प्रमोद क्षेत्रीको पनि मिर्गौला रोगको उपचारमा वीर अस्प्तालबाट पु¥याएको सेवा महत्वपूर्ण छ । यद्यपी नेपालमा मिर्गौलाको उपचारमा म लगायत डा.सत्याल, डा. शर्मा, डा. अग्रवाल र डा. क्षेत्रीको भूमिका महत्वपूर्ण छ । त्यो बेला दातृ राष्ट्रहरुको सहयोगमा वीर अस्पतालमा ६ वटासम्म डायलाईसिस मेसिन चलाउन सकिएको थियो ।
नेपालमा मिर्गौला प्रत्यारोपण २०६५
अहिले मुलुकका धेरै ठाउँमा मिर्गौलाको डायलाईसिस र मिर्गौला प्रत्यारोपण सेवा सञ्चालनमा आएको छ । २००८ को अगष्टमा नेपालमा पहिलोपटक त्रि.बि. शिक्षण अस्पतालबाट मिर्गौला प्रत्यारोपण सेवा शुरु भयो । यसको नेतृत्व डा. दिव्या सिंहले लिनुभएको थियो । त्यसको चार महिनापछि अर्थात डिसेम्भर २००८ मा वीर अस्पतालमा डा. पुकारचन्द्र श्रेष्ठको सक्रियतामा मिर्गौला प्रत्यारोपण सेवा शुरु भयो । सन् २०१३ देखि डा.पुकार श्रेष्ठको नेतृत्वमा भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपण भइरहेको छ । त्यो बेलाको तुलनामा अहिले मिर्गौला उपचार सेवाले धेरै ठूलो फड्को मारेको छ । त्यतिखेर सिमित ठाउँमा मात्र टेष्ट गर्ने सुविधा थियो । बिरामीहरुले प्रयाप्त सेवा पाउन सकेका थिएनन् । तर अहिले अधिकांश बिरामीहरुले आधुनिक तरिकाले विश्वस्तरीय डायलाईसिस र प्रत्यारोपण सेवा प्राप्त गर्न सफल भएका छन् ।
मिर्गौला उपचारमा ८ लाख २० हजार
नेपालमा सन् २००६ देखि विश्व मिर्गौला दिवस मनाउन थालेको हो । त्यसपछि नेपाल सरकारले मिर्गौला रोगको जटिलता बुझ्दै गएको देखिन्छ । सरकारले शुरुमा मिर्गौलाका बिरामीहरुलाई ५० हजार सहयोग दिने गरेकोमा यसलाई बढाएर डायलाईसिस, मिर्गौला प्रत्यारोपण र औषधिसमेतका लागि गरी अहिले मिर्गौला बिग्रिएको एउटा व्यक्तिले ८ लाख २० हजार रुपियाँ अनुदान सुविधा पाउने गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयबाट विपन्न नागरिकको सिफारिस लिएर आएको कुनै पनि मिर्गौलाको बिरामीले स्वास्थ्य मन्त्रालयको कार्यसुचिमा परेका स्वास्थ्य संस्थामा २ वर्षसम्म निःशुल्क डायलाईसिस सेवा प्राप्त गर्नसक्छ । अतः करिब २५ वर्षको दौरानमा डायलाईसिस सेवा विस्तार भयो । सरकारले डायलाईसिस सेवामा जनताको पहुँच बढाएको छ । मिर्गौला प्रत्यारोपण सेवा नेपालभित्र शुरु भएपछि सरकारले प्रत्यारोपण गर्ने व्यक्तिहरुलाई लाग्ने खर्चमा २ लाख रुपियाँ सहुलियत दिएको छ । बिरामीले पैसा त पाउँदैनन तर प्रत्यारोपण गर्ने संस्थाबाट त्यो मूल्य बराबरको सुविधा पाउँछन् । २ लाख रुपियाँ पाइसकेका व्यक्तिले प्रत्यारोपणपश्चात् खानुपर्ने औषधिहरु महँगो भएकाले थप एक लाख रुपियाँ सहुलियत पाएका छन् । यस्ता व्यक्तिहरुले जुनसुकै ठाउँमा गएर प्रत्यारोपण गरेको भएपनि १ लाख रुपियाँ प्राप्त गर्न सक्छन् । यसका लागि नेपालका नेफ्रोलोजीष्ट एवं मेडिकल बोर्डको सिफारिस आवश्यक पर्छ ।
दैनिक १ हजार डायलाईसिस
काठमाडौैं र काठमाडौंबाहिर गरी हाल करिब २०० वटा डायलाईसिस मेसिन रहेका छन् । यसबाट दैनिक मिर्गौला बिग्रिएका करिब १ हजार व्यक्तिको हरेक दिन डायलाईसिस भइरहेको छ । दुवै मिर्गौला बिग्रिएपछि मिर्गौलाले गर्ने काम गर्न सक्दैन । मिर्गौलाले हाम्रो दैनिक जीवनबाट निस्केको फोहोर पदार्थहरु रगतलाई फिल्टर गरेर बाहिर निकाल्छ । मिर्गौला बिग्रिएपछि शरीरमा यस्ता फोहोर पदार्थहरु जम्न थाल्छन् । त्यसैले हप्तामा सके तीन पटक नसके दुईपटक डायलाईसिस गर्नुपर्छ । एकपटकमा चार घण्टा रगतबाट फोहोर पदार्थ निकाल्ने प्रक्रिया नै डायलाईसिस हो । मिर्गौला प्रत्यारोपण नगरुञ्जेलसम्म डायलायसिस गरिरहनुपर्छ । त्यसैले यो खर्चिलो मात्र नभई झन्झटिलो र सुविधा नभएको ठाउँका लागि त मृत्यू बराबर नै हो ।
सिमित प्रत्यारोपण सेवा
मिर्गौला बिग्रिएकाहरुको दैनिक प्रत्यारोपण हुन सकेको छैन किनभने अस्पतालहरुमा अपरेशन थियटर, पोष्ट अपरेटिभलगायतका सुविधाको अभाव छ । यस कारण मिर्गौला प्रत्यारोपण संकुचित भएको छ । अहिले त्रि.वि.शिक्षण अस्पताल, बीर अस्पताल र मानव अंग प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपण भइरहेको छ । त्रि.वि.शिक्षण अस्पतालले हप्तामा २ वटा, बीर अस्पताल र मानव अंग प्रत्यारोपण केन्द्रले हप्तामा १—१ जना व्यक्तिको मिर्गौला प्रत्यारोपण गर्न पाउने प्रावधान तोकिएको छ । यति हुँदाहुँदै पनि बिरामीले कुर्नुपर्ने अवस्था छ । नेपालमा मिर्गौला प्रत्यारोपण गराउनका लागि २०५५ सालमा तत्कालीन संसदले पारित गरेको मानव अंग प्रत्यारोपण ऐनमा रहेर २०५८ सालमा तत्कालीन सरकारले बनाएको मिर्गौला प्रत्यारोपण नियमावलीको अधिनमा रही तीनवटा संस्थाले मिर्गौला प्रत्यारोपणका लागि स्वीकृति पाएका हुन् ।
दाता पाउन गा¥ह«ो
डायबिटिज, विभिन्न रोग, उच्चरक्तचाप, पोलिसिस्टिक मिर्गौला रोग आदिले कतिपय आफ्ना परिवारका सदस्यले मिर्गौला दान दिनसक्ने अवस्था छैन । विश्व परिदृष्यलाई दृष्टिगत गर्दा विश्वमा आफन्तले दिएर मात्र मिर्गौला प्रत्यारोपण भएको छैन । विकसित मुलुकहरुको तथ्यांक हेर्दा ९० प्रतिशत मस्तिष्क मृत्यू भएका व्यक्तिहरुबाट प्रत्यारोपणका लागि मिर्गौला लिने गरिएको छ । विदेशतिर परिवारको स्वीकृतिमा मस्तिष्क मृत्यू भएका व्यक्तिहरुको फोक्सो, मुटु, कलेजो, मिर्गौला, प्याँक्रियाज लिएर प्रत्यारोपण गर्ने प्रचलन छ । मुलुकमा यस प्रकारको कानुन नभएकाले जीवित दाता व्यक्तिबाट मात्र मिर्गौला लिनुपर्ने भएकाले नेपालमा मिर्गौला प्रत्यारोपण चुनौतिपूर्ण छ ।
प्रत्यारोपणका लागि पूर्वाधार
मानव अंग प्रत्यारोपण समन्वय समितिले मिर्गौला प्रत्यारोपणका लागि स्वीकृति दिनसक्छ । यसका लागि तोकिएका भौतिक पूर्वाधार, मेसिन, जनशक्ति, सुविधा आदि हुन जरुरी हुन्छ । सम्बन्धित निकायले तोकिएका सम्पूर्ण पूर्वाधार पु¥याएर कागजात पेश गरेमा समितिले मिर्गौला प्रत्यारोपणका लागि स्वीकृति दिन्छ । तर सरकारले तोकेको मापदण्ड पु¥याउन नसकेका कारण धेरै ठाउँमा मिर्गौला प्रत्यारोण हुन सकेको छैन । हरेक मेडिकल कलेजले चाहेमा मिर्गौला प्रत्यारोपण गर्न सक्छन् । भरतपुर मेडिकल कलेजले दुई वर्ष अघि मिर्गौला प्रत्यारोपणका लागि स्वीकृति लिइसकेको भएपनि अहिलेसम्म मिर्गौला प्रत्यारोपण हुन सकेको छैन । आउँदा दिनहरुमा प्रत्यारोपण सेवा राजधानीबाहिर पनि जानुपर्छ । निजी क्षेत्रका संस्थाहरुले पनि सेवा शुरु गर्नुपर्छ । यो खर्चिलो विधि भएकाले जनताको पहुँच र जनताले अझै राहत पाउनुपर्छ ।
९५ प्रतिशतको पहुँचबाहिर
नेपालमा मिर्गौला उपचार राम्रोसँग हुन्छ । आर्थिक पहुँच नभएका व्यक्तिको उपचारमा उसको गाबिस र जिल्लाले विपन्न भन्नुपर्ने अवस्था छ । धन भएका व्यक्तिहरुपनि धेरै खर्च हुँदा पछि हटेको अवस्था छ । उपचार गर्नुभन्दा मर्नुनै वेश भन्नेहरु र घर खेति बेचेर उपचार गर्ने सबै व्यक्तिहरु हाम्रो नेपालमा प्रशस्त छन् । मिर्गौला रोग लागेका ९५ प्रतिशत नेपालीहरुको उपचार गर्ने क्षमता छैन । खर्चिलो उपचार गराउनसक्ने नेपाल सरकारको क्षमता पनि छैन । अन्तर्राष्टिय जगतमा एकपटक डायलाईसिस गर्दा २०० डलर खर्च हुन्छ । तर सरकारले २० हजार पर्ने डायलाईसिस २५ सयमा उपलब्ध गराएको छ । यो राम्रो पक्ष हो । यदि मिर्गौला बिग्रने क्रम बृद्धि हुँदै गर्दा सरकारले यसलाई धान्न सक्ने अवस्था छैन ।
जनचेतनाको आवश्यकता
समयमा मिर्गौला परीक्षण गर्नुपर्छ । यसको विकल्प अरु छैन । मिर्गौला जोगाउने काममा सबै लाग्नुपर्छ । वर्षमा एकपटक जन्मदिनको सेरोफेरोमा रहेर मिर्गौला जाँच गराउनुहोस् । दैनिक २—३ लिटर पिसाब बन्ने गरी पानी पिउनुपर्छ, । दैनिक शारीरिक अभ्यास गर्नुपर्छ, समयमा खाने र समयमा सुत्नुपर्छ । खाएको खाद्य पदार्थ स्वस्थ हुनुपर्छ । क्रित्रिम खानाहरु धेरै खान हुँदैन । अस्वस्थकर खानाबाट टाढा रहनुपर्छ । मिर्गौला बिगार्ने किसिमका खानाहरु खान हुँदैन । सबैले आफ्नो मिर्गौला जोगाउने जिम्मेवारी लिएमा थोरै व्यक्तिको मात्र मिर्गौला बिग्रने, थोरै व्यक्तिको मात्र डायलाईसिस गर्नुपर्ने, थोरै व्यक्तिको मात्र मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्था आउनसक्छ । रोग खतरा हो तर मिर्गौला महत्वपूर्ण चिज हो ।
स्वास्थ्य बीमा नीति
रोग लागेपछि रुनुको बिकल्प छैन । उपचार गरेर धान्न सकिदैन । जीवनभर डायलाईसिस गरेर बाँच्न सकिदैन । महँगो प्रत्यारोपण गरेर जिउँन सकिदैन । त्यसैले मुलुकमा सरकारले स्वास्थ्य बीमा नीति ल्याउनुपर्छ । व्यक्तिले कमाएको केही प्रतिशत रकम स्वास्थ्य बीमामा राख्नुपर्ने बाद्यात्मक कानुन बनाएमा धेरैको उपचार संभव छ । हरेक व्यक्तिले आफ्नो मिर्गौलाको हेरचाह, समयमा रोगको पहिचान र सही उपचार गरेमा संभावित रोग निको पार्न सकिन्छ । तर निको हुन नसकेको र ढीलो रोग पहिचान भएर दुवै मिर्गौला बिर्गेका व्यक्तिको उपचार स्वास्थ्य बीमामार्फत गर्नसक्ने व्यवस्था लागू हुनुपर्छ । राजनीतिक नेता र पार्टीहरु सरकार बदल्न र संविधान बनाउनका लागि मात्र नेतृत्व लिएर आएका होइनन्, उनीहरुले स्वास्थ्य क्षेत्रमा अहम् भूमिका खेल्न त्यत्तिकै जरुरी छ ।
(वरिष्ठ नेफ्रोलोजिष्ट डा. काफ्ले राष्ट्रिय मिर्गौला उपचार केन्द्र र ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा कार्यकारी निर्देशक हुनुहुन्छ ।)