Logo
|
Saturday 21st December 2024
Logo

epaper

हाम्रो ध्यान केन्द्रित छ जटिल मुटु उपचारमा



जनस्वास्थ्य सरोकार, काठमाडौँ ।  केही समयअघि ललितपुरको छम्पीमा बस्ने ४८ वर्षका एकजना सिंगापुरका लाहुरेलाई बिहानको समयमा ब्याडमिन्टन खेल्दाखेल्दै हृदयघात भयो । उनका साथीहरुले तत्काल अस्पताल पुर्याए । सिंगापुरमा बसेको र यसबारे जानकार भएको हुनाले उनीहरुले हृदयघात हुँदा अपनाउनुपर्ने बेसिक लाइफ सपोर्टमा ध्यान दिएका थिए । उनीहरुले बिरामीको छाति थिच्दै मेडिसिटी अस्पताल पुर्याएका थिए । आकस्मिक कक्षमा जाँच गर्दा बिरामीको मुटुको चाल ३०–३२ प्रतिशत थियो । रक्तचाप थिएन । अस्पतालका वरिष्ठ इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रञ्जित शर्माले भन्नुभयो—‘त्यसपछि हामीले क्याथल्यावमा लगेर तुरुन्त एन्जिओप्लाष्टी ग¥यौं र उनलाई बचाउन सफल भयौं । उनी २ पटक फलोअपमा आइसकेका छन् । अहिले पुन ब्याडमिन्टन खेल्न शुरु गरेका छन् ।’
एन्जिओप्लाष्टी गर्ने प्रक्रिया प्राइमरी र इलेक्ट्रिभ गरी दुई प्रकारका हुन्छन् । हृदयघात भएको व्यक्तिको क्याथल्याबमा लगेर ब्लक भएको नसा खोलेर तुरुन्त स्टेन्ट राख्ने प्रक्रिया प्राइमरी एन्जिओप्लाष्टी हो । यो इमर्जेन्सी रुपमा गर्ने प्रक्रिया हो जुन बिरामीका लागि सबैभन्दा उत्कृष्ठ उपचार मानिन्छ । ब्लक भएको नशा तत्काल खोल्न सकेमा मुटुमा पर्ने असर कम गर्न सकिन्छ । कुनै बिरामीको छाति दुःख्ने लक्षण र टिएमटी गर्दा टिएमटी पोजेटिभ भएमा बिरामीमा इलेक्ट्रिभ एन्जिओप्लाष्टी गर्नुपर्छ । एन्जिओप्लाष्टी एक्सपोर्ट चिकित्सकले गर्नुपर्छ । यसका लागि प्रविधि तालिम प्राप्त दक्ष जनशक्तिको आवश्यकता पर्छ । कतिपय जटिल घटनामा बाइपास सर्जरीको पनि जरुरत पर्नसक्छ ।
डा. रञ्जित शर्मा १८ वर्षदेखि मुटु उपचारमा संलग्त हुनुहुन्छ । यो बीचमा उहाँबाट धेरै मुटुका बिरामीले नयाँ जीवन पाएका छन् । डा. शर्माको पुख्र्यौली घर दाङ भएपनि उहाँको विद्यालयस्तरको अध्ययन काठमाडौंबाट सम्पन्न भएको हो । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सन् २००० देखि मेडिकल अफिसरका रुपमा सेवा शुरु गर्नुभएका शर्माले केन्द्रको फूल स्कलरसिपमा चाइनाको ओहानबाट कार्डियोलोजीमा मास्टर्स गर्नुभयो । सन् २००५ मा नेपाल फर्केर रजिस्टार, कार्डियोलोजिष्ट हुँदै कन्सल्टेन्ट कार्डियोलोजिष्ट सम्मको तहमा पुगेर बिरामीलाई सेवा दिनुभयो । सन् २०१२– २०१३ मा सिंगापुरको नेशनल युनिभर्सिटी हार्ट सेन्टरमा इन्टरभेन्सनल कार्डियोलोजीमा तालिम लिएपश्चात् सन् २०१३ देखि यो क्षेत्रमा डा. शर्मा निरन्तर कार्यरत हुनुहुन्छ । सन् २०१७ को सेप्टेम्भरदेखि डा. शर्मा नेपाल मेडिसिटी हस्पिटलमा कार्यरत हु्नुहुन्छ । अहिले डा. शर्माले आफ्नो करियर इन्टरभेन्सनल कार्डियोलोजीमा बनाउनुभएको छ । इन्टरभेन्सनल कार्डियोलोजीअन्तर्गत डा. शर्मा र उहाँको टिमले मुटुको एन्जिओप्लाष्टी, कम्प्लेक्स पिसिआई लगायतका धेरै सेवा प्रदान गर्दै आएका छन् । एन्जिओप्लाष्टी त राजधानीभित्र र राजधानीबाहिर धेरै ठाउँमा हुन्छ । यो खुशीको समाचार हो । मुटुका विरामीहरुले स्थानीय तहमा सुविधा पाउनुपर्छ । कतिपय अवस्थामा हृदयघात भएपछि काठमाडौंमा नै आउनुपर्छ भन्ने छैन । डा. शर्मा भन्नुहुन्छ—‘हाम्रो फोकस मोर कम्पलेक्स मुटु उपचारमा छ । मुटुको उपचारका लागि विदेश जानबाट बिरामीलाई रोक्नु पहिलो प्राथमिकता हो । त्यसैले बलियो कार्डियोलोजी टिमका साथ काम गरिरहेका छौं ।’
‘नेपालमा पहिलोपटक रेट्रोग्रेट एप्रोचबाट बन्द भएको मुटुका ३ वटै नसा (सिटिओ) खोल्न सफल भएका छौं ।’—डा. शर्मा भन्नुहुन्छ—‘रेट्रोग्रेट भनेको विपरित दिशाबाट मुटुको एन्जिओप्लाष्टी गर्ने विधा हो । विपरित दिशाबाट ब्लक भएको मुटुको नसा खोल्न गारो हुन्छ । जसले पायो त्यसले गर्न सक्दैन । मुटुको दाहिनेतिरको नसा ब्लक भएमा त्यो दिशाबाट गर्न नसक्ने अवस्थामा बायाँ तिरबाट गएर नसा खोल्नुपर्छ । प्रविधिको दृष्टिकोणले यो अलि जटिल समस्या हो । यसका लागि अत्याधुनिक महँगा उपकरण र दक्ष जनशक्तिको आवश्यकता पर्छ ।’
डा. शर्मा र उहाँको टिमले सेल्फ एक्सपान्डेवल स्टेन्ट पनि राख्ने गरेको छ । मुटुको नसा व्लक हुँदा राखिने यो स्टेन्ट आफैं एक्सपान्सन हुन्छ । डा. शर्मा भन्नुहुन्छ—‘हामीले यो स्टेन्टको पहिलोपटक प्रयोग गर्यौं र सफलता मिल्यो ।’ सेल्फ एक्सपान्डेवल स्टेन्ट प्रयोग गर्ने साउथ एसियामा नै नेपाल मेडिसिटी पहिलो भएको उहाँको भनाइ छ । शत्प्रतिशत ब्लक भएको जटिल प्रकारको मुटुको नसा खोल्न निकै गारो पर्छ । ‘हाम्रो टिमले यो सुविधा उपलब्ध गराउँदै आएका छौ । इन्टरभेन्सनल कार्डियोलोजी सेवामा सबैभन्दा कठिन मानिने लेफ्ट मेन स्टेन्टिङ सुविधा पनि उपलब्ध छ ।’—डा. शर्मा भन्नुहुन्छ—‘भर्खर मात्र मुटुका सबै नसा ब्लक भई हृदयघातको समस्या लिएर आएका एकजना ७७ बर्षका बिरामीलाई एन्जिओप्लाष्टी गरेर बचाएका थियौं ।’ धेरै उमेर र फोक्सोको समस्याको कारण उनको सर्जरी गर्न हाइरिक्स थियो ।’ यसरी डा. शर्मा र उहाँको टिमले कम्पलेक्स एन्जिओप्लास्टी गरेर धेरैको जीवन बचाउँदै आएको छ ।
कम्पलेक्स समस्या आउनमा अस्वस्थ्यकर खानपान, जीवनशैली, डायविटीज, ब्लडप्रेशर, धुम्रपान, अत्यधिक मानसिक तनाव आदिले भूमिका खेलेको हुन्छ । मुटु र ब्रेनको नसामा बढी एथेरेस्कोपिकको समस्या देखिन्छ । एथेलेरेस्कोपिक आर्टरीमा लाग्ने एक प्रकारको रोग हो । आर्टरी टाउको देखि खुट्टा सम्म हुन्छ । मुटुको समस्या आउनमा खानपान मात्र हो कि अन्य कुराले पनि भूमिका खेलेको हुन्छ ? भन्ने प्रश्नमा डा. शर्माको भनाइ छ—‘मुटुको समस्याको रिक्स फ्याक्टरमा धेरै अस्वस्थ्यकर खानपान र जीवनशैलीकै कुरा जोडिएको हुन्छ । यसका साथै बढ्दो उमेर, मधुमेह, ब्लडप्रेशर, मानसिक तनाव, मोटोपन मुटु रोगका कारक तत्व हुन् ।’
मधुमेह र मुटुरोग
मधुमेह (सुगर) ले मुटु, आँखा, मिर्गौला, मस्तिष्क जस्ता महत्वपूर्ण अंगलाई असर गरिरहेको हुन्छ । मधुमेह शरीरमा हुने कम्पलेक्स प्याथोफिजियोलोजी समस्या हो । शरीरमा सुगर र ग्लूकोजको मात्रा अत्यधिक भएपछि नसाहरुमा रोगको प्रक्रियाहरु शुरु हुन्छ । मधुमेहले बिरामीहरुमा आथलोरोस्कोपिकको समस्या बढ्ने प्रक्रियालाई अधिक सक्रिय गराउँछ । यसले गर्दा नसा मुटु लगायतका महत्वपूर्ण भागमा समस्या ल्याउँछ । मधुमेहले शरीरमा खराब कोलेस्ट्रोल र ट्राइग्लिसेराइडको मात्रा बढाउँछ । त्यसैले मधुमेह भएका व्यक्तिलाई हृदयघातको सभावना धेरै हुन्छ । धेरैजसो विरामीले औषधि सेवन गरिरहेको भएपनि कतिको मधुमेह नियन्त्रण भइरहेको हुँदैन । यस्तो अवस्थामा कुनै पनि बेला समस्या हुनसक्छ । यसरैगरी लामो समयसम्म मधुमेहको समस्यासँग जुधिरहेका व्यक्तिहरुलाई भास्कुलर कम्प्लिकेसनहरुको सम्भावना बढी हुन्छ । त्यसैले रगतमा मधुमेह नियन्त्रण भएनभएकोबारे ध्यान पुर्याउन जरुरी हुन्छ ।
उच्चरक्तचाप र मुटु
हृदयघात र पक्षघातको कारक तत्व उच्चरक्तचाप पनि हो । उच्च रक्तचापले मिर्गौलामा समस्या गर्छ । शरीरमा आवश्यक भन्दा बढी चापमा काम गर्नुपरेमा हाम्रो सबै अंगहरुमा फिजियोलोजिकल समस्या ल्याउँछ । जस्तो—रक्तनलीहरुमा डिपोजिसन हुने, भेसलहरु कडा हुने, आथलोरोस्कोपिकको गतिमा बृद्धि हुने आदि । उच्चरक्तचापको ग्रेडिङ हुन्छ । एउटा तहमा उच्चरक्तचाप आइसकेपछि औषधि खानैपर्छ । उच्चरक्तचाप सुसुप्त हत्यारा हो । यसले थाहा नै नदिई ज्यान लिन सक्छ । त्यसैले उच्चरक्तचाप नियन्त्रणमा राख्न औषधि सेवन गर्नुपर्छ । उच्चरक्तचाप भएका व्यक्तिले खानपान र जीवनशैलीमा सुधार ल्याउन सकेको अवस्थामा कम डोजको औषधिले पनि काम गर्नसक्छ । यसरी चिकित्सकको निगरानीमा बसेर रक्तचापको तह र बिरामीको प्यारामिटर हेरेर उच्चरक्तचापको औषधि सेवन गर्नुपर्छ । हामीले जीवनलाई प्रोलङ गर्न औषधि खाने हो । औषधि नखाएर जीवन नै रहँदैन भने त्यसको अर्थ हुँदैन । त्यसैले डाक्टरको निगरानीमा उच्चरक्तचापको तह हेरेर हानीकारक चिजहरुलाई करेक्सन गर्नुपर्छ । यसमा आफुले पनि जिम्मेवारी लिनुपर्छ । जस्तोः धेरै तनाव नलिने, मोटोपना घटाउने, एक्सरसाइज र हिँडडूल गर्ने, नुन कम गर्ने आदि ।
औषधि सेवनबारेको भ्रम
उच्चरक्तचापको औषधि शुरु गरेपछि मधुमेह हुने भन्ने कुरा कतिको सत्य हो ? भन्ने प्रश्नमा डा. शर्मा भन्नुहुन्छ—‘यो शत्प्रतिसत गलत हो । मुटुका डाक्टरहरुले लेख्ने केही औषधिहरु छन् जुन सेवन गर्दा शरीरमा केही मात्रामा ग्लुकोज लेवल बढ्नसक्ने संभावना उच्च हुनसक्छ । तर त्यो नितान्त हाइ डोजको औषधिका कारण हो । जस्तोः विटा ब्लक्कडलगायत केही औषधि सेवन गर्नेहरुको शरीरमा ग्लुकोजको मात्रा अलिकति उच्च हुनसक्छ । यस्ता हाइ डोजका औषधि सेवन गर्दा मधुमेह हुने होइन कि शरीरमा ग्लुकोज लेवल तलमाथि हुन्छ । कोलेस्ट्रोल घटाउने र ब्लडप्रेसरका केही औषधिले यस प्रकारको समस्या ल्याउनसक्छ । चिकित्सकको परामर्श लिनुपर्छ । आत्तिन हुँदैन ।’(डा. शर्मा नेपाल मेडिसिटी हस्पिटलमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्